काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा प्रवेश गरेका कोरियाली कम्पनी हुन्डाईले विद्युतीय सवारी (ईभी) उत्पादनमा आक्रमक योजना अघि सारेको छ ।
कम्पनीले आगामी ५ वर्षमा चीनमा २० नयाँ मोडेलहरू लन्च गर्ने योजना सार्वजनिक गरेको हो । जसको सुरुवात कम्पनीले शुक्रबार २०२६ बेइजिङ अटो शोमा आयोनिक भी इलेक्ट्रीक कार सार्वजनिक गर्दै गरिसकेको छ ।
हुन्डाइले चीनियाँ कम्पनी बेइजिङ अटोमोबाइल इन्डिस्ट्री होल्डिङ (बीएआइसी)सँगको सहकार्यमा सन् २०३० सम्ममा २० नयाँ मोडल ल्याउने भएको हो । कम्पनीले २० नयाँ मोडलमा प्योर इलेक्ट्रीक र प्लगइन हाइब्रिड दुवै मोडल समावेश गरेको छ ।
कम्पनी २०३० सम्म चीनमा वार्षिक बिक्री ५ लाख युनिट पुर्याउने लक्ष्य राखेको हो । यसमा चीनबाट हुने निर्यात पनि समावेश हुनेछ ।
हुन्डाईका सीईओ होजे मुनोजले चीन कम्पनीको लागि एक महत्वपूर्ण बजार भएको बताए । उनले हुन्डाईले देशप्रतिको आफ्नो प्रतिबद्धता पूरा गर्न ‘तेब्बर जोड दिइरहेको’ बताए ।

हुन्डाईले चीनमा पहिलो घरेल बजार र त्इसपछि निर्यातमा जोड दिने रणनीति बनाएको छ । सीईओ मुनोजले बेइजिङ शोमा मिडियालाई भने, ‘हुन्डाई पहिले चीनमै प्रतिस्पर्धी बनेर त्यसपछि चीनमा निर्मित कारहरू बेलायत, युरोप र मध्य पूर्व लगायतका अन्य बजारहरूमा निर्यात गर्न चाहन्छ ।’
यद्यपि, हुन्डाईका लागि चीनको स्थापित ब्राण्ड वीवाइडी, जिली, लीपमोटर, चेरी जस्ता ब्राण्डसँग प्रतिस्पर्धा गर्न निकै चुनौतीपूर्ण देखिन्छ ।
हुन्डाईले चीनमा लन्च गरेको आयोनिक ब्राण्डका मोडेलहरू ‘ई-जीएमपी प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनाइएका छन् । जसले प्योर इलेक्ट्रीक र एक्सटेन्ड रेन्ज पावरट्रेन दुवैलाई समर्थन गर्दछ ।
आयोनिकका गाडीमा ८०० भोल्टको फास्ट चार्जिङ र इलेक्ट्रीक ड्राइभ प्रणालीहरू छन् । यसमा क्वालकमको फ्ल्यागशिप ककपिट चिप्स, सीएटीएल, बाइडुको वेनसिन लार्ज मोडेल, र बाइटडान्सको भोल्कानो इन्जिनसँग एकीकरण गरिएको छ ।

आयोनिक भी ‘मल्टी प्याक्टेड थ्री डाइमेन्सल’ डिजाइन, डाइमेन्सनल लाइट ब्लेड, लाइट क्लस्टरहरू र स्प्लीट हेडलाइट डिजाइन छ । साइडमा फ्रेमलेस डोर र भी आकारका ह्वीलहरू छन् । पछाडिको भागमा डाइमेन्सनल स्टार ट्र्याक टेललाइटहरू छन्।
यसको लम्बाइ ४९०० एमएम, चौडाइ १८९० एमएम र उचाइ १४७० एमएम छ । यसको ह्वीलबेस २९०० एमएम छ ।
नेबुला र्याप्ड इन्टेरियर डिजाइन रहेको आयोनिक भीमा २७ इन्चको पानोरामिक अल्ट्रा थिन फोर के ठूलो स्क्रीन, नेबुला लाइटिङ, एम्बियन्ट लाइटहरू र साइबर आई एचयूडी जडान गरिएको छ ।
कम्पनीले अहिलेसम्म आयोनिक भीको विस्तृत ब्याट्री क्षमता, पावरट्रेन स्पेसिफिकेसन, मूल्य र लन्च मिति सार्वजनिक गरेको छैन ।

हुन्डाईले गत अप्रिलमा दुई विद्युतीय कार कन्सेप्ट ‘भेनस’ र ‘अर्थ’ मार्फत चीनमा डेब्यु गर्ने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ उपभोक्ताहरूका लागि आयोनिक युनिभर्स नामक एक विशेष इकोसिस्टम निर्माण गरिरहेको छ ।
चिनियाँ उपभोक्ताहरूलाई अनन्त केन्द्र सूर्यको रूपमा राखिएको छ । जहाँ भेनस कन्सेप्ट र अर्थ कन्सेप्ट आयोनिक युनिभर्समा प्रकट गरिएका पहिलो दुई ग्रहहरू हुन् । जसले हुन्डाईको नयाँ चीन रणनीतिको प्रारम्भिक ठोस परिणामहरूलाई प्रतिनिधित्व गर्दछ । भविष्यका उत्पादन मोडेलहरूका लागि सूचकको रूपमा काम गर्दछ ।

