बीवाइडीको एउटै कारको मूल्य ४२ करोड

काठमाडौं । विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीले एउटै कार करिब ४२ करोड नेपाली रुपैयाँमा बिक्री गरेको छ ।

कम्पनीले २०२६ बेइजिङ अटो शोमा आफ्नो सबब्राण्ड याङवाङको ‘यू नाइन एक्सट्रिम’ सुपर कार २७ लाख ६० हजार अमेरिकी डलरमा बेचेको हो ।

यो बीवाइडीको हालसम्म उत्पादन भएको सबैभन्दा महँगो कार हो । साथै, बेइजिङ अटो शोकै पनि सबैभन्दा महँगो कार हो ।  बीवाइडी ग्रुपका ब्राण्डिङ तथा जनसम्पर्क महाप्रबन्धक ली युनफेईले यू नाइन एक्सट्रिम बेइजिङ अटो शोको दौरान बिक्री भएको सबैभन्दा महँगो मोडल भएको बताएका छन् ।

उनका अनुसार यो गाडी विश्वभर ३० युनिट मात्र निर्माण गरिने छ । जसमा अटो शोमा कम्तीमा एउटा गाडी हस्तान्तरण गरिएको थियो । बीवाइडीका अध्यक्ष वाङ चुआनफु आफैंले ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।

यो चिनियाँ ब्राण्डका सुपरकारहरूको मूल्यका लागि नयाँ मानक समेत बनेको छ । यू नाइन एक्सट्रिमले नर्बर्गिङ नर्डस्लाइफमा ६ः५९.१५७ मिनेटको ल्याप टाइम रेकर्ड गरेको छ । जसले यसलाई उत्पादन गरिएका इलेक्ट्रीक गाडीहरूको श्रेणीमा शीर्ष स्थानमा राखेको छ। यसले झुझाउ, झुहाई, छेङ्दु तियानफु र सांघाई लगायतका विभिन्न चिनियाँ सर्किटहरूमा पनि ल्याप रेकर्डहरू कायम गरेको छ।

यू नाइन  १२०० भोल्टको इलेक्ट्रिकल आर्किटेक्चरमा बनेको कार हो । यसले ३००० हर्सपावरभन्दा बढीको आउटपुट दिन्छ । यसमा बीवाइडीको डिसस एक्स सस्पेन्सन प्रणाली छ । साथै, कार्बन सेरामिक डिस्क सहितका मजबुत ब्रेकिङ पार्टपुर्जाहरू प्रयोग गरिएको छ।

२०२६ को बेइजिङ अटो शोमा बीवाइडीको याङवाङ ब्रान्डले यू नाइन एक्सट्रिम र यू ८ एल दुवै प्रदर्शन गरेको थियो । यू ८ एल एक चार सिट भएको विलासी एसयूभी हो जसलाई अति उच्च श्रेणीमा राखिएको छ । यू ८ एलले मर्सिडिज मायबाक जीएलएस ६०० जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ, जसको मूल्य १ लाख ७९ हजार ४०० डलरभन्दा माथि हुने प्रारम्भिक रिपोर्टहरूले देखाएका छन्।

यी दुई मोडलहरूको प्रदर्शनीले बीवाइडीको पोर्टफोलियो भित्र कार्यक्षमता र विलासिता दुवै श्रेणीमा याङवाङको स्थितिलाई झल्काउँछ ।

२०२६ को पहिलो त्रैमासमा याङवाङको बिक्री ८०.३ प्रतिशतले बढेर ९४५ युनिट पुगेको छ । २०२५ को पहिलो त्रैमामा ५२४ युनिट मात्र बेचेको थियो ।


Back_to_top