वुलिङ एक्सियन एसयूभीमा के छ खास, नेपाली बजारमा पार्ला प्रभाव ?

काठमाडौं । वुलिङका विद्युतीय साधन नेपालमा बिक्री सुरू भएको ४ वर्ष पुग्न लागिसकेको छ । वुलिङ एयर ईभी, वुलिङ बिंगो जस्ता कम मूल्यका कार यसअघि बजारमा रहे पनि ठूलो सफलता पाउन सकेको थिएन ।

यद्यपि, एकै पटक १०० युनिट माथि नेपाल ल्याइएको बिंगो ह्याचब्याक आफ्नो फरक डिजाइन र कम्फर्टको कारण भने धेरैले याद गर्छन् । पारिवारिक कार खोज्नेको दिमागमा बिंगोले केही प्रभाव पारेकै थियो ।

चिनियाँ विद्युतीय कारको बजार बढ्दै जाँदा र ठूला एसयूभी पनि कम मूल्यमा उपलब्ध हुँदा ह्याचब्याक कारमा धेरैले रुची देखाएनन् । मोटरसाइकलमा मासिक २ हजार हाराहारी किलोमिटर यात्रा गर्नेको लागि साना विद्युतीय कार निकै उपयोगी देखिन्छन् ।

सुरक्षाको हिसाबले र प्रतिकिलोमिटर रनिङ कस्टका हिसाबले पनि उपयोगी हुने भएको कारण विस्तारै मोटरसाइकलबाट इलेक्ट्रीक ह्याचब्याक कारमा उक्लनेको संख्या बढ्दैछ । यस्तोमा साना कारको लागि चर्चित ब्राण्ड वुलिङले एक्सियन नाम एसयूभी नेपाल ल्याउन लागेको हो ।

वुलिङका उत्पादनको बिक्री पारामाउन्ट मोटर्सले गर्ने भएको छ । चिनियाँ एसएआइसी ग्रुपको लगानी रहेको वुलिङको एसयूभी एमजीकै नेपालको डिलरले बिक्री गर्ने भएको हो ।

यस्तो छ वुलिङ एक्सियन एसयूभी

यसअघि वुलिङले उत्पादन गरेको साना कार बिक्री हुँदै आएकोमा अब एक्सियन नामक एसयूभी आउने भएको छ । साइजको हिसाबले पनि यो एसयूभी राम्रो छ । मानिस बोक्ने क्षमताको हिसाबले त झनै राम्रो देखिन्छ ।

यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७५५ एमएम छ । जुन उत्कृष्ट मान्न सकिन्छ । यसमा २८१० एमएम लामो ह्वीलबेस छ । ७ सिट क्षमतामा विस्तार गरिएको एसयूभी ठूलो परिवार, पर्यटक ओसार पसार र अफिसियल प्रयोगको लागि उपयोगी हुने देखिन्छ ।

१८ इन्चको अलोय ह्वील, फोल्डेवल रियर सिट, मस्कुलर फ्लोलाइन डिजाइन भएको कारण हेर्दा पनि एक्सियन एसयूभी आकर्षक लाग्छ ।

नेपाली बजारमा कस्तो प्रभाव पार्ला ?

नेपालमा जहिल्यै विद्युतीय गाडीको मूल्य, डिजाइन र फिचर हेरेर उपभोक्ताले गाडी छनोट गर्ने गरेको देखिन्छ । यस्तोमा वुलिङ एक्सियनको मूल्य र ग्राउण्ड क्लियरेन्सले धेरै कुरामा प्रभाव पार्न सक्छ ।

अहिले यो सेग्मेन्टमा थुप्रै मोडल उपलब्ध छन् । प्रतिस्पर्धीको तुलनामा यसको मूल्य कति कायम हुन्छ भन्ने कुराले यसको बिक्री निर्धारण गर्नेछ ।


Back_to_top