लाइसेन्स, ब्लूबुक र चाबी नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै अब चालकको चालक अनुमतिपत्र (लाइसेन्स), ब्लूबुक र सवारीको साँचो नियन्त्रण नलिन निर्देशनात्मक आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले ट्राफिक प्रहरीलाई यस्तो आदेश दिएको हो । सर्वोच्चले ट्राफिक नियम उल्लंघन गर्दैमा कागजात र चाबी निन्त्रणमा लिन गैरकानुनी रहेको ठहर गरेको हो ।

नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ साउन ४ गते बबरमहलमा ट्राफिक लाइट उल्लंघन गर्दा प्रहरीले जरिवाना गरी लाइसेन्स नियन्त्रणमा लिएको र २४ घण्टापछि मात्र फिर्ता दिएको भन्दै २०८१ कात्तिक ७ गते रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले गत पुस ६ गते गरेको फैसलामा यस्तो फैसला गरेको हो ।

‘ट्राफिक प्रहरीले निवेदक र अन्य व्यक्तिको सवारीचालक अनुमतिपत्र, ब्लुबुक, चाबीलगायतका कागजपत्र नियन्त्रणमा लिन कानुनले अनुमति प्रदान नगरेको अवस्थामा नियन्त्रणमा लिने गरेको भन्ने देखिएको हुँदा त्यस्तो स्वेच्छाचारी र कानुनविपरीत कार्य रोक्नुपर्ने देखियो,’ सर्वोच्चको फैसलामा भनिएको छ ।

सर्वोच्चले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा कागजात र साँचो नियन्त्रण लिन पाउने व्यवस्था नरहेको ठहर गरेको छ । ट्राफिक नियम उल्लंघन गर्दा जरिवानाको र सो नतिरे पुर्जी दिनेसम्मको व्यवस्था मात्र रहेको उल्लेख गर्दै लाइसेन्स वा ब्लूबुक नियन्त्रणमा लिनु विधिको शासनविपरीत हुने सर्वोच्चको निष्कर्ष छ ।

फैसलामा लाइसेन्स नै नियन्त्रणमा लिँदा व्यक्तिको आवतजावत गर्ने, पेसा-व्यवसाय संचालन गर्ने अधिकारमा अनुचित बन्देज लाग्ने भनिएको छ ।

कानुनले नदिएको अधिकार प्रयोग गरी नागरिकको निजी कागजात नियन्त्रणमा लिनु विधिको शासन र नागरिकको स्वतन्त्रताको हकविपरीत हुने अदालतको ठहर छ ।

फैसलाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top