काठमाडौं । रोयल इनफिल्ड इन्डियाले फ्लेक्स फ्युल (इथानोल मिश्रण गरिएको इन्धन)मा आधारीत नयाँ मोटरसाइकलको परीक्षण सुरू गरेको छ ।
कम्पनीले आफ्नो लोकप्रिय मोडल क्लासिक ३५० जस्तै देखिने मोटरसाइकलको फ्लेक्स फ्युल भेरियन्टको भारतमा परीक्षण थालेको हो ।
भारत सरकारले भविष्यमा उच्च इथानोल मिश्रित पेट्रोल ९ई ८५ र ई १००० सिस्टम लागू गर्ने गरी मस्यौदा तयार पारेको छ । त्यसैलाई लक्षित गर्दै रोयल इनफिल्डले ८५ प्रतिशत इथानोल मिसाइएको फ्युलबाट चल्ने नयाँ ३५० मोडलको रोड परीक्षण थालेको हो ।
ई ८५ इन्धनमा ८५ प्रतिशतसम्म इथानोल मिश्रण हुन्छ भने ई १०० पूर्ण रूपमा इथानोल आधारित इन्धन हो ।
कम्पनीले आफ्नो पहिलो फ्लेक्स फ्युल ३५० कन्सेप्ट मोडल २०२४ भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको थियो । सोही मोडल हाल परीक्षणमा देखिएको हो । जस अनुसार उक्त मोडल अहिले उत्पादन नजिक पुगेको संकेत देखिएको छ ।
कन्सेप्ट मोडल तथा परीक्षणका क्रममा देखिएको मोटरसाइकल अहिले बिक्री भइरहेको क्लासिक ३५० जस्तै देखिन्छ । यसको मुख्य फरक भनेको फ्युल ट्यांकमा रहेको ई ८५ स्टिकर हो ।
क्लासिक ३५० रोयल इनफिल्डको सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो । त्यसैले आगामी आउने इन्धन नियमअनुसार नयाँ कम्प्लाइन्टलाई कम्पनीले क्लासिक डिजाइनमै तयार पारेको छ । यसलाई तयार बनाउनु कम्पनीका लागि रणनीतिक रूपमा पनि महत्त्वपूर्ण मान्न सकिन्छ ।
मोटरसाइकलमा प्रयोग गरिएको जे सिरिज इन्जिन रोयल इनफिल्डका अन्य ३५० मोडलहरूमा पनि प्रयोग हुन्छ । त्यसैले भविष्यमा ती मोडलहरूलाई पनि ई ८५ कम्प्लायन्ट बनाउन सजिलो हुने भएकाले यो सेग्मेन्टलाई अघि सारेको अनुमान छ । नयाँ मोटरसाइकलका बारेमा अन्य कुनै जानकारी बाहिर आएको छैन ।

