काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पूर्ण जलेका सवारी साधनको नाममा पनि इन्धन सुविधा लिने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण क्षति भएका सवारी साधनको विवरण देखाई कर्मचारीले इन्धन सुविधा लिइरहेको पाइएपछि उनले अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।
उनले इन्धन दुरुपयोग बारे छनवबिन गर्न मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छन् ।
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारीको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनमा स्वास्थ्य मन्त्रालयका १८ र यसअन्तर्गतका अरू निकायका ६ गरी कुल २४ गाडी जलाइएको थियो ।

