काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिन कडाइ गर्ने भएको छ । ३३ वर्ष पुरानो ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ खारेज गरेर ल्याउन लागिएको नयाँ ऐनमा नयाँ लाइसेन्स लिन हालकोेभन्दा थप कडा व्यवस्था प्रस्ताव गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स सम्बन्धी नयाँ व्यवस्था गर्न ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाईं संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२’को मस्यौदा तयार पारेको छ ।
प्रस्तावित विधेयकमा लाइसेन्स पाउने उमेर २ वर्ष बढाउने प्रस्ताव गरिएको छ । त्यस्तै, लाइसेन्स लिन दिनुपर्ने ट्रायलमा कच्ची र चिप्लो बाटोमा सवारी कुदाउनु पर्ने, व्यवसायिक लाइसेन्स पाउन कम्तीमा ८ कक्षा पास गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
मन्त्रालयले सुरक्षित र जिम्मेवार चालक उत्पादन गर्न कडा व्यवस्थाहरू प्रस्ताव गरेको हो । जसले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन पालना गराउन, लाइसेन्स प्रणालीमा देखिएको विकृति सुधार ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
विधेयकमा लाइसेन्स लिन कडाइ गरिए पनि नवीकरण गर्दा लाग्ने जरिवाना भने घटाउने प्रस्ताव गरिएको छ । साथै, नेपालबाटै इन्टरनेशनल ड्राइभिङ परमिट जारी गर्ने व्यवस्था गरिने उल्लेख छ ।
मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले नयाँ विधेयकको मस्यौदा वेबसाइटमा सार्वजनिक गरी सरोकारवालासँग राय सुझाव लिने काम भइरहेको छ ।
प्राप्त राय सुझाव बारे छलफल गरी चाँडै मस्यौदालाई अन्तिम रूप दिइने उनले बताए । त्यसपछि सहमतिका लागि कानुन र अर्थमन्त्रालयमा पठाइने उनले बताए । दुवै मन्त्रालयबाट सहमति प्राप्त भएपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने छ । मन्त्रिपरिषद्बाट स्वीकृत हुनेबित्तिकै संसदीय प्रक्रियामा जाने उनको भनाइ छ ।
‘अहिले नयाँ सवारी तथा यातायात विधेयकको मस्यौदा उपर सरोकारवालाहरूबाट राय सुझाव लिने काम भइहरेको छ । प्राप्त सुझाव समेटी चाँडै मस्यौदालाई अन्तिम रूप दिई थप प्रक्रिया अघि बढाइन्छ,’ उनले बताए ।
प्रस्तावित विधेयक संघीय संसदका दुवै सदनबाट बहुमतले पारित हुनुपर्नेछ । त्यसपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१औं दिनदेखि लागू हुनेछ ।
यस्ता छन् प्रस्तावित विधेयकमा गरिएका लाइसेन्स सम्बन्धी नयाँ व्यवस्थाहरू
१. लाइसेन्स पाउन कम्तीमा १८ वर्ष पुग्नुपर्ने : विधेयकमा लाइसेन्स लिन पाउने उमेर २ वर्ष बढाउने प्रस्ताव गरिएको छ । सो अनुसार अब कुनै पनि सवारी साधनको लाइसेन्स पाउन कम्तीमा १८ वर्ष पुग्नुपर्ने भएको छ । हाल १६ वर्षमै दुई र तीनपाँग्रे सवारीको लाइसेन्स लिन पाइने व्यवस्था रहेकोमा अब १८ वर्षै पुग्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
त्यस्तै, मझौता तथा सानो (चारपाँँग्रे) सवारीको लाइसेन्स लिन २१ वर्ष, ठूला सवारीको २३ वर्ष पूरा गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । हाल साना सवारीको लाइसेन्स १८ वर्षमै लिन पाइन्छ भने ठूलाको लागि २१ वर्ष पुग्नुपर्ने व्यवस्था छ ।
२. व्यवसायिक लाइसेन्स लिन ८ कक्षा पास हुनुपर्ने : सरकारले पहिलो पटक प्रयोजनका आधारमा लाइसेन्सको वर्गीकरण गर्ने प्रस्ताव गरेको छ । हाल व्यवसायिक र निजी सवारी एउटै लाइसेन्सले चलाउन पाइन्छ । अब भने व्यवसायिक रूपमा ट्याक्सी, स्कुल बस, सार्वजनिक बस लगायत चलाउनेहरूले अनिवार्य रूपमा व्यवसायिक लाइसेन्स लिनुपर्ने हुन्छ ।
व्यवसायिक लाइसेन्स लिन कम्तीमा ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । यो ऐन लागू हुनुभन्दा अगाडि लाइसेन्स लिइसकेकाहरूको हकमा भने उनीहरूको लाइसेन्स स्वतः व्यवसायिक लाइसेन्समा परिणत भएको मानिने छ ।
३. कच्ची र चिप्लो बाटोमा ट्रायल : प्रस्तावित व्यवस्था अनुसार अब ट्रायल दिँदा परीक्षार्थीले कच्ची तथा चिप्लो बाटोमा समेत सवारी साधन चलाउनु पर्नेछ । हाल परीक्षार्थीले ट्रायल सेन्टर भित्र मात्रै गाडी चलाए पुग्छ । कच्ची तथा चिप्लो बाटोमा सवारी चलाउनु पर्दैन । विश्वका अधिकांश देशमा भने ट्रायल दिँदा विभिन्न किसिमका सडकमै सवारी चलाउनुपर्ने व्यवस्था छ ।
ट्रायल सेन्टर भित्रै मात्रै सवारी चलाएर उत्तिर्ण भएकाहरूले कच्ची तथा अफ्ठेरो सडकमा सहजै सवारी चलाउन नसकेको देखिन्छ । त्यसलाई मध्येनजर गर्दै अब कच्ची र चिप्लो बाटोमा पनि सवारी चलाएर उत्तिर्ण भएपछि मात्रै लाइसेन्स दिइने व्यवस्था गर्न लागिएको हो ।
त्यस्तै, ट्रायल दिँदा घुमाउरो, उकालो तथा ओरालो बाटोमा सवारी चलाउने, सवारी अगाडि र पछाडि सुरक्षित रुपमा सार्न सक्ने, निर्धारित लेनमा सवारी सुरक्षित साथ चलाउन सक्ने र निर्धारित स्थानमा पार्किङ गर्न सक्ने क्षमता जाँच गरिने छ । यी व्यवस्था भने हाल पनि कायम छन् । लिखित परीक्षा सम्बन्धी व्यवस्थामा भने कुनै परितर्वन गरिएको छैन ।

