भारतमा थप ३ नयाँ प्लाण्ट खोल्दै टोयोटा, वार्षिक १० लाख गाडी उत्पादन गर्ने

काठमाडौं । जापानी अटोमोबाइल उत्पादक टोयोटाले भारतमा बजार विस्तारको आक्रमक योजना अघि सारेको छ ।

टोयोटा किर्लोस्कर मोटरले आफ्नो उत्पादन क्षमता बढाएर आन्तरिक बिक्रीलाई मजबुत बनाउन र भविष्यमा निर्यातका लागि बलियो आधार तयार पार्न भारतमा तीन नयाँ प्लाण्ट खोेल्ने भएको हो ।

टोयोटाले सन् २०३० को अन्त्यसम्ममा भारतको अटोमोटिभ हब महाराष्ट्रमा तीनवटा नयाँ एसेम्बली प्लाण्ट स्थापन गर्ने योजना बनाएको हो । यी तीनवटै केन्द्रहरू संचालनमा आएपछि टोयोटाको वर्तमान उत्पादन क्षमता झण्डै तीन गुणाले बढ्नेछ । यद्यपि, टोयोटाले नयाँ कारखाना निर्माणको बारेमा औपचारिक निर्णय भइनसकेको बताएको छ।

टोयोटाको लक्ष्य सन् २०३० सम्ममा भारतका सबै प्लान्टहरूबाट वार्षिक करिब १० लाख सवारी साधन उत्पादन गर्ने रहेको छ । यस लक्ष्यलाई चाँडो पूरा गर्न टोयोटाले ३०० अर्ब जापानी येन लगानी गर्ने अनुमान गरिएको छ।

हाल टोयोटाले कर्नाटकको बेंगलुरु नजिकै रहेको बिदादीमा तीनवटा उत्पादन प्लाण्टहरू संचालन गरिरहेको छ। यी प्लाण्टहरूले मुख्यतया आन्तरिक बजार र हाइब्रिड सवारी साधनहरूमा जोड दिइरहेका छन् । महाराष्ट्रमा बन्ने नयाँ प्लाण्टहरूले आन्तरिक बजारको माग मात्र पूरा नगरी भारतलाई निर्यात हबको रूपमा स्थापित गर्न समेत सहयोग पुर्याउने छन्।

टोयोटा विश्वभर बलियो उपस्थिति भएको अटोमोबाइल कम्पनी हो। यसको वार्षिक उत्पादन क्षमता जापानमा ३१ लाख, चीनमा २२ लाख र अमेरिकामा १५ लाख युनिट रहेको छ।

महाराष्ट्रका यी तीन नयाँ प्लाण्टहरूसँगै भारतमा टोयोटाको उत्पादन क्षमता १० लाख पुग्ने अनुमान गरिएको छ। योसँगै भारत टोयोटाको विश्वकै चौथो ठूलो कार उत्पादन हब बन्नेछ।


Back_to_top