भोलिबाट बिक्री सुरू हुँदै ‘नयाँ एटो वान’, थपिने भयो थुप्रै फिचर

काठमाडौं । बीवाइडीले यसअघि नै २०२६ एटो वान (चीनमा सिगल) मे ११ तारिखबाट बिक्री थाल्ने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार भोलिबाट चीनमा अपग्रेड भएको सिगल ह्याचव्याक बिक्री सुरु हुने भएको हो ।

कम्पनीले आफ्नो इन्ट्री लेभल ह्याचव्याक कारमा लाइडार प्रयोग गरेको छ । अहिलेसम्म बाहिर आएको तस्बिर अनुसार नयाँ सिगलको छतमा सेन्सर जडान गरिएको छ । उक्त सेन्सरले लाइडारको प्रयोगलाई एकिन गरेको हो ।

चीनमा ३.५ देखि ४ मिटरसम्मका साना गाडीलाई इन्ट्री लेभलमा राख्ने गरिएको छ । २०२६ सिगलको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरेको रिपोर्ट अनुसार लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम र उचाइ १५५० एमएम छ । यसमा २५०० एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।

टप स्पीड १३० किलोमिटर प्रतिघन्टाको सम्म दौडाउन सकिने नयाँ सिगल ह्याचव्याकमा मोटर भने पुरानै रहने अनुमान गरिएको छ । कम्पनीले यसमा ब्याट्री साइज पनि परिवर्तन गर्ने विभिन्न रिपोर्टहरुले दावी गरेका छन् ।

बीवाइडीले ओसन सिरिज अन्तर्गत उत्पादन गरेको सिगल सन् २०२५ मा ५ लाख २९ हजार ५३७ युनिट बिक्री भएको थियो । नेपाली बजारमा पनि एटो वान नामबाट यो ह्याचव्याक कार २०२५ को अन्तिमतिर नेपाल आएको थियो । नेपाल आएदेखि नै यसले राम्रो बिक्री पाउँदै आएको छ ।

बीवाइडीले सिगललाई चीन बाहिर एटो वान, डल्फिन सर्फ जस्ता नामले बिक्री गर्दै आएको छ । चीन र अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने स्पेकमा ठूलो परिवर्तन छ । त्यसैले अपग्रेड भएर आउँदा के कति फिचर थप भएर आउछ भन्ने एकिन अहिल्यै गर्न सकिने अवस्था छैन ।


Back_to_top