काठमाडौं । सरकारले विदेशबाट अस्थायी रूपमा सवारी साधन ल्याउने प्रक्रिया सहज बनाएको छ । भन्सार विभागले टेम्पोररी इम्पोर्ट अफ भेहिकल (टीआईभी डिक्लेरेसन) नामको नयाँ अनलाइन पोर्टल संचालनमा ल्याएसँगै सहज भएको हो ।
यससँगै अब विदेशबाट नेपाल आउने पर्यटकले अस्थायी रूपमा नेपाल सवारी साधन ल्याउन अनलाइनबाटै ‘टेम्पोररी इम्पोर्ट अफ भेहिकल’ घोषणा गरी राजस्व तिर्न सक्नेछन् ।
यसअघि विदेशबाट अस्थायी रूपमा नेपाल सवारी ल्याउँदा भन्सार नाकामा आएर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो ।
तर, नयाँ अनलाइन प्रणाली सुरू भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारी साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् ।
विभागका अनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकहरूलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो ।
तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारी साधनका लागि लागू गरिएको भन्सार विभागले स्पष्ट पारेको छ ।
हालाई चीनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारी साधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ। तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।


