ईभीमा सरकारले देखेका १४ अवसर

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग वर्षेनी बढ्दो क्रममा छ । सन् २०२५ को तथ्यांक अनुसार नेपाल ईभी पेनिट्रेसनमा विश्वकै दोस्रो स्थानमा छ । कुल बिक्री हुने नयाँ कारमध्ये ७३ प्रतिशत हिस्सा ईभीको रहेको थियो ।

सरकारले विगतदेखि लिएको प्रोत्साहन नीतिले नै ईभीको प्रयोग बढ्न सहयोग पुर्याएको हो ।  ईभी खरिदमा कर छुट, चार्जिङ स्टेसन निर्माणमा आफ्नै लगानी र निजी क्षेत्रलाई सहुलियत दिँदै आएको छ । उपभोक्ता पनि कम मूल्यमै आधुनिक फिचर भएका ईभी कार पाउनु, संचालन र मर्मत खर्च कम हुनु लगायत कारणले ईभीतर्फ आकर्षित भइरहेका छन् ।

सरकारले आगामी ४ वर्ष (सन् २०३० सम्म) निजी सवारीमा ईभीको हिस्सा ९० प्रतिशत पुर्याउने महत्वकांक्षी लक्ष्य समेत राखेको छ । त्यसका लागि ईभी पूर्वाधारमा खर्बौं लगानी गर्नेदेखि कम्बस्चन गाडीलाई ईभीमा कन्भर्ट गर्नेसम्मको नीति अघि सारेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत भदौ ३० गते मन्त्रीस्तरीय निर्णयबाट नेपालमा विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था, वर्तमान अवस्था, अवसर, चुनौती र सम्भावनाको अध्ययन प्रतिवेदन तयार गर्न एक कार्यदल गठन गरेका थिए ।

मन्त्रालयका सहसचिव तथा पूर्वाधार निर्माण तथा यातायात महाशाखाका प्रमुख कृष्णराज पन्थ संयोजकत्व गठित कार्यदलले नेपालमा ईभी सम्बन्धी विद्यमान कानून, नीति, करका दर, ब्याट्री व्यवस्थापन, चार्जिङ पूर्वाधार लगायत विषयमा अध्ययन गरी सुझाव सहित कात्तिक ९ गते प्रतिवेदन बुझाएको थियो । मन्त्रालयले उक्त प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्न सकेमा नेपालका लागि अनेक अवसरहरू सृजना हुने उल्लेख गरिएको छ । यस्ता छन् कार्यदलले ईभीमा देखेका अवसरहरू

१. जल विद्युतको आन्तरिक खपत वृद्धि : नेपालमा ९०% जति विद्युत जलशक्तिवाट उत्पादन हुन्छ । उच्च पहाडी भागवाट निस्कने खोलाहरु तराईको समथर भुभाग पुग्दासम्म ठाउँ-ठाउँमा पुनः जलविद्युत उत्पादन गर्न सकिन्छ तर यसको भण्डारण गर्न कठिन हुन्छ। तसर्थ, विद्युतीय सवारीको चार्जिङ स्टेशन मार्फत यसको अधिकतम उपयोग गरि आन्तरिक खपत वृद्वी गर्न सकिन्छ। स्वदेशी नवीकरणीय ऊर्जाको माध्यमले विश्वव्यापी तेल मूल्यमा हुने अस्थिरता र आपूर्ति अवरोधबाट नेपाललाई जोगाउन सकिन्छ ।

२. मुद्रा सटहीमा बचत : नेपालमा बाह्य मुद्रा सञ्चितिको अधिकांश भाग पेट्रोलियम पदार्थको आयातमा खर्च हुने गर्दछ। जल विद्युतको आन्तरिक खपतले आयातीत जिवाश्म ईन्धन माथिको निर्भरता घटाउने भएकोले फरेन रिजर्भको रूपमा राखुपर्ने मुद्रा लाई कम गर्न सकिन्छ ।

३. वायु प्रदूषणमा कमी : ईभीबाट शून्य टेलपाइप उत्सर्जन हुने भएकोले पटक पटक विश्वको प्रदूषित सूचीमा पर्ने काठमाडौँ उपत्यकालाई प्रदूषण रहित वानउन सकिन्छ साथै धूवाको कारणले हुने लङ ट्रम तथा श्वासप्रश्वास सम्बन्धि समस्याहरूमा कमि ल्याउन सकिन्छ। एक अध्ययन अनुसार प्रदूषित वातावरणमा बस्ने मानिसको औसत आयू ३ वर्ष कम हुने गर्दछ। विद्युतीय सवारीमा प्रयोग हुने मोटरले न्यून ध्वनि उत्पादन गर्ने हुनाले शहरी कोलाहल नियन्त्रण गरि ध्वनिजन्य स्वास्थ्य समस्याहरू समेत घटाउँछ ।

४. कम संचालन लागत : ईभी चार्जिङको लागत पेट्रोलको तुलनामा १२ गुणासम्म कम हुन्छ । साथै यसमा प्रयोग हुने पार्टपूर्जाहरूको मर्मत संभार पनि कम खर्चिलो हुने भएकोले समग्रमा विद्युतीय सवारीको संचालन खर्च उल्लेखिय रूपमा घटाउन सकिन्छ ।

५.रोजगारी सिर्जना : विद्युतीय सवारीसाधनको सम्पूर्ण ईकोसिस्टम विकास गर्न सकेमा यसका मर्मत संभार, चार्जिङ पूर्वाधार, ब्याट्री उत्पादन तथा मर्मत र स्थानीय एसेम्बली लगायतमा रोजगारी सिर्जना हुन्छ, जसले अटोमोटिभ क्षेत्रलाई थप व्यवस्थित गर्न सकिन्छ ।

६. एसडीजी लक्ष्य प्राप्ति : दीगो विकास लक्ष्यका प्रमुख अवयवहरू रूपमा रहेका २०३० सम्म ९० प्रतिशत निजी ईभी र २०४५ सम्म नेट शून्य कार्वन उत्सर्जनको नेपालको एनडीसी लक्ष्य प्राप्ति गर्न समेत विद्युतीय सवारीको महत्वपूर्ण भूमिका रहन्छ ।

७. विद्युतीय सवारीको उत्पादन केन्द्र : नेपालमा तुलनात्मक रूपमा किफायति जनशक्ति उपल्ब्ध छ। त्यसैगरी, नेपालमा जलविद्युतको प्रचुरताले यहाको विद्युतीय ऊर्जालाई समेत कम खर्चमा उपलब्ध गराउन सकिन्छ। बिश्वकै सस्तो प्रविधि उत्पादन गर्ने छिमेकी राष्ट्र चीनबाट प्राविधि एडप्सन गर्न सकेमा नेपाल विश्वको ईभी उत्पादनको केन्द्र बन्न सक्छ । नेपालमा उत्पादन भएका सवारीसाधन छिमेकी मुलुकहरूमा निर्यातको ठूलो अवसर रहेको देखिन्छ ।

८. सार्वजनिक यातायातको आधुनिकीकरण : नेपालको सार्वजनिक यातायात क्षेत्रमा प्रत्यक्ष र परोक्ष रूपमा झण्डै १५ खर्बको लगानी तथा १५ लाख रोजगारीको रहेको छ । यस क्षेत्रमा विद्युतीकरणको संजाल विस्तार गर्न सकेमा नागरिकको नजरमा साख गुमेको यातायात क्षेत्रलाई पुन विद्युतीकरण तयासंजाल बिस्तार गर्न सकेमा नागरिकको नजरमा साख गुमेको यातायात क्षेत्रलाई पुन विद्युतीकरण तथा डिजिटलाईजेशनको माध्यमले पुनः स्थापित गर्न, शहरी गतिशीलता प्रदान गर्न र यातायातक्षेत्रमा व्यापक सुधार गर्न सकिन्छ ।

९. उन्नत प्रविधिले सडक दूर्घटना न्यूनीकरण : विश्वव्यापी रूपमा प्रख्यात बीवाडी, टेस्ला लगायतका ब्राण्डहरूले एआइ तथा एडास लगायतका प्रविधिको माध्यमले उन्नत सुरक्षा प्रणालीको विकास गरेको देखिन्छ । यस्ता नया र नवप्रवर्तनकारी सुविधाले सम्पन्न विद्युतीय सवारीहरूले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ ।

१०. नवीकरणीय ऊर्जा प्रणालीको विस्तार : ईभीको बढ्दो मागले नेपालमा ऊर्जा खपतको मात्रा बढछ । बढदो ऊर्जा खपतले निजी क्षेत्रलाई ऊर्जा उत्पादनतिर आकर्षित गर्दछ । सौर्य र हाइड्रोपावर जस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूले प्रोत्साहन पाउछ, जसले नेपालको ऊर्जा उत्पादन क्षमता वृद्धि गर्छ । ईभी प्रविधिको विकास र स्थानीय स्टार्टअपहरूको आकर्षणले नेपालमा स्वदेशी प्रविधि र सफ्टवेयर विकासलाई समेत वढावा दिन्छ ।

१०. शहरी यातायात दक्षता र पर्यटकीय आकर्षण : गुणस्तरीय विद्युतीय बस र सार्वजिक यातायातमा नविन प्रविधिको प्रयोगले यातायात अनुशासन कायम गर्ने, ट्राफिक जाम कम गर्न, काठमाडौं जस्तो शहरी क्षेत्रमा यात्राको समय र लागत घटाउन मदत गर्छ। नेपाल (काठमाडौं) जस्तो पर्यटकीय मन्तव्यमा सार्चजनिकसवारिको गुणस्तरीयता वृद्धि गरी स्वच्छ र शान्त पर्यटकीय अनुभव प्रदान गर्छ र जसले पर्यटकहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति आकर्षित गर्छ।

१२. शिक्षा र सीप विकास : ईभी मर्मत, चार्जिङ स्टेशन संचालन, र ब्याट्री प्रविधिमा तालिमले युवाहरूलाई नयाँ प्राविधिक सीप प्रदान गर्छ, । नेपालमा प्रत्येक वर्ष ९ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा जाने युवाहरू प्राविधिक शिपको अभावमा थ्रीडी सिन्ड्रोम (डर्टी डेन्जर एण्ड डिफिकल्ट) मा फस्न बाध्य छन । यस्ता युवालाई कि दक्ष प्राविधिकको रूपमा बैदेशिक रोजगारीको अवसर सृजना गर्छ की नेपालभित्र नै आफ्नो सीपको उचित मुल्य प्राप्त गर्ने वातावरण पाउँछ ।

१३. विद्युतीय सवारी साधनमा नयाँ ब्याट्री टेक्नोलोजी (लिथियम आयन, लिथियम आयन फोस्फेट) प्रयोग गर्ने सम्भावना ।

१४. इन्टरनेट अफ थिङ्स र डिजिटल प्रणाली प्रयोग गरी सवारी ट्रयाकिङ र चार्जिङ व्यवस्थापन ।


Back_to_top