काठमाडौं । सरकारले पूर्वविशिष्ट ब्यक्तिहरुले प्रयोग गर्दै आएको सवारी साधनको खोजी सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गर्दै आएको सवारी साधनको विवरण माग गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसरी प्रयोग भएका सवारी साधनको विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्र लेखेको छ । विशेषगरी केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको र फरक निकायबाट दोहोरो सुविधा पनि लिएको भन्ने तथ्यका आधारमा गृह मन्त्रालयसँग विवरण माग गरेको हो ।
गृह मन्त्रालयलाई लेखिएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन भनिएको छ ।
राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको प्रधानमन्त्री कार्यालको दावी छ । कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधा खोज्ने र फिर्ता ल्याउने अभियान सुरु गर्न लागिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा भएका सवारी साधन फिर्ता गर्ने सरकारको योजना छ ।


