२५ करोड खर्चेर मुग्लिन-नारायणगढ सडकको पहिरो रोकथाम गरिँदै, ठेक्का आह्वान

फाइल तस्बिर ।

काठमाडौं । मुग्लिन-नारायणगढ सडक अन्तर्गत तुइन खोला र नाम्सी खोला आसपासका क्षेत्रमा पहिरो रोकथाम गर्न ठेक्का आह्वान भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले जेठ १८ गतेसम्मको समय दिएर ठेक्का आह्वान गरेको हो ।

३६ किलोमिटर लामो यो सडकखण्डमा २६ मध्यम, १४ सामान्य र ९ वटा उच्च जोखिम क्षेत्र छन् । त्यसमध्ये पहिलो चरणमा सबैभन्दा उच्च जोखिम रहेको क्षेत्रको पहिरो रोकथामका लागि टेन्डर आह्वान गरिएको हो ।

सडक विस्तार तथा पुल निर्माणका क्रममा भित्ता काट्दा कमजोर बनेको क्षेत्रमा चट्टान झरेर हरेक वर्ष पहिरो जाने गरेको छ । उक्त क्षेत्रमा रक एंकरिङ र रक नेटिङ जस्ता प्रविधि प्रयोग गरेर पहिरो रोकथाम गरिने भइएको हो । यद्यपि, बर्खा लागेपछि सडक डिभिजनले टेन्डर खुलाए पनि काम गर्न भने असहज हुन सक्ने देखिएको छ ।

डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बर्खा र सुक्खायाममा आउने पहिरो रोकथामका लागि ठेक्का आह्वान गरिएको जानकारी दिए ।

‘पहिरो नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । यो रकम आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि खर्च गर्न मिल्ने गरी विनियोजन गरिएको हो,’ उनले भने ।

तुइनखोला पुलको नारायणगढतर्फको भागमा भित्ता काट्दा कमजोर चट्टान भएका कारणले पहिरो जाने गरेको छ । यहाँ १०५ मिटर माथिबाट पहिरो झर्ने गर्छ । गत वर्ष असोजमा तुइन खोलामा माथिबाट पहाड नै खस्दा ३ दिनसम्म सडक अवरुद्ध भएको थियो ।

रातको समयमा पहिरो या ढुङ्गा खस्दा टाढाबाट प्रष्टसँग देख्न सकियोस् भनेर डिभिजन सडक कार्यालयले दुईवटा फ्लड लाइट र पहिरोको अवस्था हेर्न सीसी क्यामेरा जडान गरेको छ ।

संघीय राजधानी काठमाडौं जोड्ने लाइफलाइन यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी साना ठूला सवारी साधन आवतजावत गर्छन् ।


Back_to_top