लामो यात्रापछि मोटरसाइकलबाट किन आउँछ टिकटिक आवाज ?

काठमाडौं । लामो दूरीको यात्रा सकेर मोटरसाइकल पार्किङ गरेपछि इन्जिन वा साइलेन्सरबाट टिकटिक आवाज आउने समस्या धेरै राइडरले अनुभव गरेका हुन्छन्।

कतिपय अवस्थामा यस्तो आवाजले प्रयोगकर्तालाई चिन्तित समेत बनाउँछ । मोटरसाइकलमा खराबी आएको हो कि भन्ने आशंका पैदा गर्छ । तर, मोटरसाइकल विज्ञहरूका अनुसार यो अवस्था सामान्य भौतिक प्रक्रियासँग सम्बन्धित रहेको हुन्छ । प्रायः मोटरसाइकलको अवस्था चिन्ताजनक नहुने उनीहरूको भनाइ छ ।

तातो इन्जिन चिसिँदा हुने प्रक्रिया

लामो समयसम्म मोटरसाइकल चलाउँदा यसको इन्जिन, साइलेन्सर र भित्री कम्पोनेन्टहरू निकै तातो हुन्छन् । विशेषगरी साइलेन्सर भित्र जडान गरिएको क्याटालिटिक कन्वर्टर अत्यधिक तापक्रममा पुग्ने भाग हो। मोटरसाइकलको स्टार्ट बन्द गरेपछि यी सबै भागहरू क्रमशः चिसिँदै जान्छन्।

धातु तातो हुँदा फैलिने र चिसिँदा संकुचित हुने गुण हुन्छ। यही कारणले गर्दा इन्जिन र साइलेन्सर भित्र रहेका विभिन्न धातुका तहहरू चिसिँदै जाँदा सानो हलचल उत्पन्न हुन्छ। यसै प्रक्रियाबाट टिकटिक जस्तो आवाज उत्पन्न हुने गर्दछ ।

फरक-फरक आवाज आउँछ

साइलेन्सर र इन्जिनभित्र रहेका विभिन्न भागहरू एउटै दरमा चिसिँदैनन्। केही भाग छिटो चिसिन्छन् भने केही ढिलो । यही असमान चिसिने प्रक्रियाले धातु बीच सानो घर्षण वा चलायमानता पैदा गर्छ, जसले गर्दा फरक फरक आवाज सुनिन्छ । यो प्रक्रिया इन्जिन पूर्ण रूपमा चिसो नहुँदासम्म केही समय जारी रहन सक्छ ।

क्याटालिटिक कन्वर्टरको भूमिका

आधुनिक बाइकहरूमा प्रदूषण नियन्त्रणका लागि क्याटालिटिक कन्वर्टर प्रयोग गरिन्छ । यसले साइलेन्सरबाट निस्कने हानिकारक ग्यासलाई कम हानिकारक ग्यासमा रूपान्तरण गर्छ । यो रासायनिक प्रक्रिया उच्च तापक्रममा हुने भएकाले क्याटालिटिक कन्वर्टर अत्यधिक तातो हुन्छ । पछि चिसिँदा यसको संरचनामा हुने संकुचनले पनि टिकटिक आवाज बढाउने गर्छ ।
 
नयाँ मोटरसाइकलमा बढी सुनिन्छ

विशेषगरी बीएस ४ र बीएस ६ मापदण्डका नयाँ मोटरसाइकलहरूमा यस्तो आवाज बढी सुनिन्छ । यी मोटरसाइकलहरूमा प्रयोग हुने आधुनिक उत्सर्जन नियन्त्रण प्रणाली र ठूलो क्याटालिटिक कन्वर्टरका कारण तापक्रम उच्च हुने भएकाले चिसिँदा आउने आवाज पनि स्पष्ट र अलि ठूलो हुने गर्छ।

कहिले सावधानी अपनाउने

लामो यात्रापछि मोटरसाइकलबाट आउने टिकटिक आवाज सामान्य थर्मल प्रक्रिया हो, जुन तातो धातु चिसिँदा हुने संकुचनका कारण उत्पन्न हुन्छ। त्यसैले यस्तो आवाज सुन्दैमा आत्तिनु पर्दैन ।

तर, यदि आवाज असामान्य रूपमा ठूलो, फरक, निरन्तर वा मोटरसाइकल चलाउँदा समेत सुनिन थाल्यो भने प्राविधिक जाँच गराउनु उपयुक्त हुन्छ । यस्तो अवस्था इन्जिन वा अन्य पार्ट्समा आएको समस्याले हुन सक्ने सम्भावना रहन्छ ।

नियमित सर्भिसिङ र उचित मर्मत सम्भारले मोटरसाइकललाई सुरक्षित र दिगो बनाइराख्न मद्दत गर्छ । त्यसैले, केही समस्या देखिए आफ्नो स्वास्थ्यको जस्तै ख्याल गर्दै सवारीको पनि नियमित चेकजाँच गराऔं ।


Back_to_top