नयाँ कार र मोटरसाइकल खोज्नेलाई आज थपिँदै दुई मोडल

काठमाडौं । नेपाली बजारमा आज एक साथ दुई नयाँ सवारी साधन बिक्री सुरू हुने भएको छ । बजारमा आउन लागेका नयाँ एसयूभी र मोटरसाइकल दुवै प्रिमियम सेग्मेन्टका हुन् ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एस सिक्स एसयूभी बजारमा ल्याउने छ । उता पुरानो विरासत बोकेको रोयल इन्फिल्डको नयाँ मोटरसाइकल गुरिल्ला ४५० पनि आजबाटै बिक्री सुरू हुँदैछ ।

दुवै ब्राण्डले आफ्नो नयाँ मोडल काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर सार्वजनिक गर्नेछन् । आजबाट बजारमा आउन लागेका यी दुवै मोडलले कस्तो व्यापार गर्छन्, त्यो हेर्न भने केही महिना कुर्नै पर्ने हुन्छ ।

एमजी एस सिक्स एसयूभी मिडसाइज सेग्मेन्टमा उपलब्ध मोडल हो । ४.७ मिटर लामो एसयूभीमा ७७ किलोवाट आवरको एनसीएम ब्याट्री प्रयोग भएको छ । त्यसैले यसले सिंगल चार्जमा ५३० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यसमा १८० किलोवाटको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ ।

रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डीओएचसी, एफआई, शेर्पा इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।


Back_to_top