अहिलेका ईभीको मोटरभन्दा मर्सिडिजको ‘एक्सियल फ्लक्स मोटर’ किन फरक ?

काठमाडौं । मर्सिडिजले आफ्नो ‘एएमजी जीटी’ कुपे डिजाइन एसयूभी बजारमा सार्वजनिक गरेसँगै चर्चा चुलिएको छ । यसको चर्चा हुनुमा मुख्य कारण ‘एक्सियल फ्लक्स मोटर’ हो ।

मर्सिडिजको एएमजी सिरिजमा नै यही मोटर प्रयोग हुनेछ । विद्युतीय एसयूभीमा एक्सियल फ्लक्स मोटरको प्रयोग खास मानिएको छ । अहिले बजारमा उपलब्ध ईभीहरूमा ‘रेडियल मोटर’ प्रयोग भइरहेका छन् ।

रेडियल मोटर साइजमा ठूलो हुन्छ भने तौलमा पनि एक्सियल फ्लक्स मोटरभन्दा बढी हुन्छ । तर, पावर प्रदान गर्ने क्षमतामा भने एक्सियल फ्लक्स मोटर अगाडि देखिन्छ ।

मोटरकै वजन कम भएपछि गाडीको रेन्ज बढ्छ । साथै, ह्याण्डलिङ गर्न पनि सहज हुनेछ । रेडियल मोटरको तुलनामा एक्सियल फ्लक्स मोटरको तौल ३० देखि ५० प्रतिशतसम्म कम हुन्छ ।

एक्सियल फ्लक्स मोटरको प्रयोगले गाडीको ब्यालेन्समा सुधार ल्याउँछ भने स्पोर्ट्स कारको ‘ड्राइभिङ फिल’ नै परिवर्तन गर्न सक्छ । यसको बनोट पनि रेडियल मोटरभन्दा पृथक हुन्छ ।

रेडियल मोटर ड्रम आकारमा तयार पाएिको हुन्छ । जबकि एक्सियल फ्लक्स मोटर प्यानकेक जस्तो चेप्टो आकारमा बन्छ । मर्सिडिजले एएमजे सिरिजमा यसको प्रयोग थालेको मर्सिडिजले ब्रिटिस कम्पनी ‘यासा’लाई खरिद गरेर एक्सियल फ्लक्स मोटर आफ्नो बनाएको हो । सन् २०२१ मा यासा कम्पनी मर्सिडिजले खरिद गरेको थियो ।

नयाँ एक्सियल फ्लक्स मोटरको प्रयोग सन् २०३० बाट व्यापक हुने अनुमान गरिएको छ । अहिले मर्सिडिजले सीमित आफ्ना कारमा प्रयोग गरे पनि विस्तारै अन्य ब्राण्डले पनि यो टेक्नोलोजी प्रयोग थाल्ने अनुमान गर्न सकिन्छ ।

एक्सियल फ्लक्स मोटर प्रयोग भएको मर्सिडिज ‘एएमजी जीटी’ कुपेले शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन केबल २.१ सेकेण्ड लगाउने छ । जबकि २०० किलोमिटरको स्पीड पनि केबल ६.४ सेकेण्डमै छुन सक्छ । यसले नयाँ मोटरको पावर अन्दाज गर्न सकिन्छ ।


Back_to_top