‘ट्रायल’को रूपमा उबरको सेवा सुरू

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा अनौपचारिक रूपमा सेवा सुरू गरेको छ । चाँडै औपचारिक रूपमा सेवा थाल्ने तयारी गरिरहेको कम्पनीले काठमाडौं उपत्यकामा ट्रायलको रूपमा राइड सेवा थालेको हो ।

उबरको एपमा राइडका लागि ‘रिक्वेस्ट’ गर्न मिल्ने सुविधा उपलब्ध भएको छ । एपमा चारपाँग्रे र दुईपाँग्रे दुवै सवारी बुकिङ गर्न मिल्ने व्यवस्था छ ।

अन्य राइड सेयरिङको तुलनामा उबरको भाडादर समेत सस्तो देखिएको छ । उबरको एपमा (बिहीबार पौने ६ बजे) नक्सालबाट न्यूरोड गेटसम्म मोटरसाइकलमा यात्रा गर्न बुकिङ गर्दा ६७ रुपैयाँ भाडा देखाएको थियो । सोही समयमा सोही गन्तव्यमा इन्ड्राइभले ९१ रुपैयाँ, पठाओले १०९ रुपैयाँ देखाएको थियो ।

उबरले मंगलबार मात्रै आफ्नो आधिकारिक इमेलमार्फत सन्देश पठाउँदै आफू काठमाडौंमा आइसकेको जानकारी गराएको थियो ।

स्रोतका अनुसार उबरले नेपालमा सेवा विस्तार गर्न ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । औपचारिक घोषणा हुन भने बाँकी छ ।

उबरले सुरूमा काठमाडौं उपत्यकामा सेवा थाल्ने र क्रमशः देशका अन्य सहरी क्षेत्रमा विस्ता गर्ने रणानीति बनाएको बताइएको छ ।

उबरले विश्वका ७० बढी देशमा सेवा दिँदै आएको छ । हाल नेपालमा पठाओ, इन्ड्राइभ, याङ्गो लगायत कम्पनीले राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएका छन् । उबर नेपाल आएसँगै प्रतिस्पर्धा बढ्ने र यात्रुले थप विकल्प पाउने छन् ।


Back_to_top