कुनै समय नेपालीको रोजाइका कार ब्राण्डको अवस्था अहिले कस्तो ?

काठमाडौं । नेपाली उपभोक्ताको रोजाइमा विद्युतीय कार पर्दा कुनै समयका चल्तीका ब्राण्ड आफ्नो अस्तित्व जोगाउनै मुस्किल अवस्थामा पुगेका छन् ।

खासगरी युरोपियन र जापानी ब्राण्डलाई टिक्नै कठिन भएको हो । उसोत भारतीय उत्पादन पनि कमजोर बिक्रीको शिकार भएका छन् । टाटा र महिन्द्रा जस्ता भारतीय ब्राण्डले समयमा नै ईभी विकास गरेका कारण केही सहज ठाँउमा छन् ।

टाटाले सन् २०२१ देखि नै ईभी बिक्री गर्दै आएको कारण ऊ सहज स्थानमा छ भने महिन्द्राले बोलेरो र स्कर्पियो जस्ता अफरोडको लागि उपयोगी भेहिकलको कारण आफूलाई बचाइरहेको छ । अब उसको ईभी पनि प्रतिस्पर्धी बजारको एक विकल्प बनेर आएको कारण समस्यामा छैन ।

कोरियन ब्राण्ड हुन्डाई नेपालमा ईभीको बजार निर्माण गर्ने ब्राण्ड हो । उसले आफ्नो उत्पादनमा विविधता ल्याएको छ । त्यसैले पेट्रोलियम पदार्थबाट चल्ने कार र ईभी दुवै उसको बलियो लाइनअपमा पर्छ ।

मारुती सुजुकीले पनि पेट्रोल कारमा विकल्प दिँदै आएको छ । भर्खरै मात्र कम्पनीले ई भिटारा बजारमा ल्याएर इलेक्ट्रीकमा पनि बलियो उपस्थिति देखाउने प्रयास गर्दैछ ।

टोयोटा नेपालका धेरै कार प्रेमीको ‘स्टेटस सिम्बोल’ बन्दै आएको छ । विश्व बजारको औषत ब्राण्ड टोयोटा नेपालमा प्रिमियम मानिन्छ । त्यसको मुख्य कारण टोयोटाका ठूला एसयूभीको बिक्री राम्रो संख्यामा हुनुहो ।

अमेरिकन ब्राण्ड फोर्डले भारतमा उत्पादन रोकेसँगै नेपालमा संख्यात्मक बिक्री भेट्टाउन सकेको छैन । रेन्जर र ¥याप्टर जस्ता पीकअप तथा एभरेस्ट एसयूभीको धेरै बिक्री छैन । त्यसैले आफ्नो ब्राण्ड टिकाइराख्न पनि फोर्डलाई मुस्किल परिरहेको छ ।

युरोपियन ब्राण्ड रेनो, फक्सवागेन र स्कोडा नेपालमा कुनै समय बलियो नाम बनिसकेका थिए ।

रेनोको डस्टर र क्वीड बजारमा प्रवेश गर्दा धमाकेदार बिक्री पायो । त्यसपछि आएको काइगरले पनि राम्रो बिक्री भेट्टाए पनि विगत २ वर्षदेखि रेनोको उपस्थिति कमजोर बन्यो । अहिले रेनोले कुनै पनि नयाँ मोडल नेपाल ल्याएको छैन ।

फक्सवागेन पनि नेपालमा टोयोटाको प्रतिस्पर्धी ब्राण्डको रूपमा आएको थियो । सुरूमा बीटल, टोरेक, टिगुवान जस्ता गाडी बेचेको स्कोडा पछि भारतीय उत्पादनको भरमा छ । पोलोको उत्पादन बन्द भएसँगै आएको टाइगुन एसयूभीको केही युनिट बिक्री गर्दै फक्वागेनले दिन कटाइरहेको छ ।

फक्सवागेन ग्रुपकै अर्को ब्राण्ड स्कोडा पनि संख्यात्मक बिक्री कमजोर बन्दै गएको ब्राण्ड हो । हरेक समयम एउटा उत्पादनले साथ दिएको स्कोडालाई अहिले ईभीको कारण धक्का लागेको बुझ्न सकिन्छ । स्कोडाले सब फोर मिटर एसयूभी काइल्याक र कुशाक बिक्री गर्दै आएको छ । तर, भोलूम भने ठूलो छैन ।

जापानी ब्राण्ड निसान र मित्सुबिशी पनि सेलाउँदै गएका ब्राण्डमा पर्छन् । यद्यपि, निसानसँग अहिले पनि लाइनअपमा मोडलहरू छन् । संख्यात्मक रूपमा निसान म्याग्नाइट अहिले पनि राम्रो बिक्री हुँदै आएको एसयूभी हो । चार मिटरभन्दा छोटो एसयूभी मूल्यका हिसाबले पनि सबैभन्दा सस्तो भएको कारण निसान बजारमा टिकिरहेको छ । छिट्टै नयाँ मोडलहरू ल्याउने तयारीमा रहेको निसान अझै प्रतिस्पर्धामा देखिन्छ ।

मित्सुबिशी पजेरो नेपालमा एउटा पुस्ताले कहिल्यै नबिर्सने नाम हो । संसदलाई सुविधामा पजेरो दिने २०५२ सालको सरकारले निर्णय गरेदेखि नै यसले चर्चा पाएको हो । तर, क्रमिक रूपमा मित्सुबिशीका उत्पादन पनि बजारमा बिक्री हुन छाडे ।


Back_to_top