काठमाडौं । काठमाडौं महानगरपालिकाले ध्वनि प्रदूषण गर्नेलाई कारबाही गर्ने भएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नियम विपरीत ध्वनि उत्पन्न गर्नेहरूलाई जरिवाना गर्ने चेतावनी दिएको हो ।
सार्वजनिक स्थल, औद्योगिक क्षेत्र, आवासीय क्षेत्र, बजार क्षेत्र तथा कार्यालय परिसरमा अनावश्यक एवं अत्यधिक ध्वनि उत्पन्न हुने गतिविधिहरूका कारण जन गुनासो बढेको महानगरले जनाएको छ ।
ध्वनि प्रदूषणले मानव स्वास्थ्य र मानसिक शान्तिमा असर पुर्याउनुका साथै चराचुरुङ्गी, अन्य जीवजन्तुको प्राकृतिक जीवन र वातावरणीय सन्तुलनमा समेत प्रतिकूल प्रभाव पारेकाले महानगरले त्यस्ता गतिविधि नगर्न अनुरोध गरेको हो ।
महानगरका अनुसार अब लाउडस्पिकर, माइक, साउण्ड सिस्टम तथा अन्य ध्वनि उत्पन्न गर्ने उपकरणहरू अनावश्यक रूपमा वा तोकिएको सीमाभन्दा बढी प्रयोग गर्न वा गराउन पाइने छैन ।
त्यस्तै, सार्वजनिक स्थल, सडक तथा आवासीय क्षेत्रमा सवारी साधनको हर्न अनावश्यक रूपमा प्रयोग नगर्न, सभा, समारोह, निर्माण कार्य वा अन्य कुनै पनि कार्यक्रम संचालन गर्दा निर्धारित समयभित्रै सम्पन्न गर्न, विद्यालय, अस्पताल, कार्यालय, उद्योग कलकारखाना तथा आवासीय क्षेत्र वरपर शान्त वातावरण कायम राख्न विशेष ध्यान दिन महानगरले आग्रह गरेको छ ।
महानगरले आफ्नो क्षेत्रभित्र प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ को पूर्ण पालना गर्न सबैलाई अनुरोध समेत गरेको छ । नियम पालना भए नभएको वैधानिक रूपमा हेर्नका लागि अनुगमन टोली खटाइने महानगरले जनाएको छ ।
यदि, कसैले कानुन विपरीत ध्वनि प्रदूषण हुने गतिविधि गरेमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ बमोजिम जरिबाना सहितको कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।


