पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आए पनि निगमले गरेन समायोजन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगमको संचालक समितिको जेठ १७ गतेको निर्णयले हालकै बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेशन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले मूल्यमा कुनै हेरफेर नगरेको हो । भारतबाट हरेक १५र१५ दिनमा पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची आउँछ । सोही अनुसार समायोजन गर्नुपर्ने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र सोही कारण आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको भनाइ छ ।

निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्गका लागि २१६ रुपैयाँ र तेस्रो वर्गका लागि २१७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २२२.५० रुपैयाँ, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २२५ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।


Back_to_top