६ वर्षपछि फेरी बजारमा आयो एभेन्जर २२० स्ट्रीट

काठमाडौं । भारतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी बजाज अटोले आफ्नो लोकप्रिय क्रुजर मोटरसाइकल सेग्मेन्ट अन्तर्गत नयाँ एभेन्जर २२० स्ट्रीट मोडल सार्वजनिक गरेको छ ।

बजाज अटोले सन् २०२० मा उत्पादन बन्द गरेको एभेन्जर २२० स्ट्रीट मोटरसाइकल पुनः भारतीय बजारमा बिक्री सुरू गरेको हो ।

कम्पनीले शहरी प्रयोगलाई लक्षित गर्दै निर्माण गरेको बजाजको नयाँ क्रुजर एभेन्जर २२० स्ट्रीट मोटरसाइकलको मूल्य १ लाख ३० हजार १७२ भारु(एक्स शोरुम) तोकेको छ । कम्पनीले नयाँ एभेन्जरलाई औपचारिक रूपमा सार्वजनिक नगरी सिधै बिक्रीमा ल्याएको हो ।

यससँगै अब बजाजको एभेन्जर क्रुजर सेग्मेन्टमा एभेन्जर १६० स्ट्रीट, २२० क्रुज र २२० स्ट्रीट गरी तीन मोडल उपलब्ध भएको छ । नयाँ एभेन्जर २२० स्ट्रीट इबोनी ब्ल्याक र ककटेल वाइन रेड गरी दुई कलर विकल्पमा किन्न पाइन्छ । डिजाइनका हिसाबले यो मोडल पहिलेको एभेन्जर २२० स्ट्रीटकै परिमार्जित संस्करण जस्तै देखिन्छ ।

एभेन्जर स्ट्रीटले आफ्नो लोकप्रिय लो-स्लङ क्रुजर डिजाइनलाई निरन्तरता दिएको छ । ब्ल्याक-आउट स्टाइलिङ, अलोय ह्वील, न्यूनतम डिजाइन एलिमेन्टका कारण यो मोडल एभेन्जर क्रुजभन्दा केही बढी स्पोर्टी देखिन्छ ।

यसमा सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हेलोजन हेडलाइट, साधारण स्विचगियर सेटअप यथावत् राखिएको छ । आधुनिक मोटरसाइकलमा देखिने स्मार्टफोन कनेक्टिभिटी वा फुल-एलईडी लाइटिङजस्ता सुविधाहरू भने उपलब्ध छैनन् ।

एभेन्जर २२० स्ट्रीटमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ट्विन शक अब्जर्भर सस्पेन्सन सेटअप दिइएको छ । ब्रेकिङका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेकको प्रयोग गरिएको छ भने सुरक्षाका लागि सिंगल-च्यानल एबीएस प्रणाली दिइएको छ ।

मोटरसाइकलमा २२० सीसी क्षमताको आयल-कुल्ड, सिंगल सिलिण्डर, एफआई इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले अधिकतम १९ पीएस पावर तथा १७.६ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५-स्पिडको गियरबक्स छ ।


Back_to_top