काठमाडौं । महानगर यातायात प्रालिले १६ वटा नयाँ विद्युतीय बस थपेको छ ।बुधबार काठमाडौंमा शशिला मोटर्स प्रालिले महानगर यातायातलाई १६ वटा नयाँ विद्युतीय बस हस्तान्तरण गरेको हो ।
महानगरले ती नयाँ विद्युतीय बसमा काठमाडौंको चक्रपथ रुटमा गुडाउने छ । महानगर यातायातले यसअघि गत असारमा १२ वटा ठूला विद्युतीय बस संचालनमा ल्याएको थियो ।
महानगरले अहिले संचलनमा ल्याएका नयाँ विद्युतीय बस ३३ सिट क्षमताको हो । उभिएरसहित उक्त बसमा एकैपटक करिब ७० जनाले यात्र गर्न सक्नेछन् ।
महानगरले संचालनमा ल्याएका विद्युतीय बस आधुनिक र सुविधा सम्पन्न छन् । बसमा आरामदायी सिट, यात्रुका लागि उभिन सहज हुने ह्याङगिङ ह्याङगिङ स्ट्रयाप लगायत सुविधाको प्रबन्ध मिलाइएको छ ।
उक्त विद्युतीय बसमा १४४ किलोवाट आवरको सीएटीएल ब्याट्री प्रयोग भएको छ । जसले एकपटकको फुलचार्जमा २०० किलोमिटर रेन्ज दिनेछ । उक्त बसको मूल्य १ करोड ३२ लाख रुपैयाँ रहेको जनाइएको छ ।
महानगर यातायातले हाल काठमाडौं उपत्यका र बाहिरका विभिन्न सहरमा १४० भन्दा बढी सवारी मार्फत सेवा दिइरहेको छ । कम्पनीसँग हाल २८ वटा बस र २४ वटा माइक्रोबससहित कुल ५२ वटा विद्युतीय सवारी छन् ।


