काठमाडौं । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले मूल्यको आधारमा कर लगाउने निर्णय लिएसँगै अधिकांश विद्युतीय एसयूभीको मूल्य बढ्ने देखियो । तर, केही भाग्यमानी मोडल पनि बजारमा उपलब्ध छन्, जसको मूल्य केही घट्ने देखिएको हो ।
बजारमा मूल्य घट्ने एसयूभीमा लिपमोटरको बी-१० एसयूभी सबैभन्दा अगाडि देखियो । साँग्रिला मोटर्सले आजै एक कार्यक्रम आयोजना गर्दै मूल्य घटाउन लागेको हो ।
परिवर्तित करका दर अनुसार बी-१० एसयूभीमा पहिलाभन्दा कम कर लाग्ने भएको हो । लिपमोटर बी-१० एसयूभीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । त्यसैले यसअघि बी-१० मा ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्थ्यो ।
अहिलेको कर व्यवस्था अनुसार बी-१० एसयूभीमा भन्सार २० प्रतिशत, २० प्रतिशत स्वच्छ निर्माण कर, ५ प्रतिशत सडक निर्माण कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । समग्रमा सरकारले घटाएको कर अनुसार १२ प्रतिशत हाराहारी मूल्य घट्ने देखिन्छ । त्यसैले सम्भवतः बी-१० एसयूभीको मूल्य ५ लाख रुपैयाँ हाराहारीले घट्ने अनुमान गर्न सकिन्छ ।

यस्तै, करका दरको फाइदा पाउने मोडलमा जिली ईएक्स फाइभको इन्ट्री भेरियन्ट र प्रोटोन इमास सेभेनको इन्ट्री भेरियन्ट हो । यी दुवै एउटै गाडी हुन् । जुन चिनियाँ कम्पनी जिलीको ब्राण्डमा र मलेशियाली ब्राण्ड प्रोटोनको नाममा उपलब्ध छ । चीनमा जिली ग्याक्सी ईएक्स फाइभ नामबाट बिक्री हुने एसयूभी नेपालमा ग्यालेक्सी ईएक्स फाइभ र प्रोटोन इमास नामबाट आउँछ ।
यी दुवै एसयूभीमा १६० किलोवाटको मोटर छ । जसको कारण दुवै मोडलमा लीपमोटर बी-१० कै जस्तो भन्सार ३० प्रतिशत, अन्तःशुल्क २० प्रतिशत लाग्थ्यो । अब नयाँ कर निर्धारण विधि अनुसार यी दुवैका इन्ट्री भेरियन्ट ३० लाखभन्दा कम सीआइएफ मूल्यमा आउने भएको कारण भन्सार र स्वच्छ निर्माण कर समान २०/२० प्रतिशत लाग्छ ।

अहिले नै उच्च प्रतिस्पर्धाको कारण यी दुवै एसयूभीको मूल्य राम्रै छ । सम्भवतः अझै केही कम गरेर बिक्री गर्नेछन् । तर, यी दुवैको टप भेरियन्ट भने केही महँगो हुने भएको छ ।
यसका अलावा टाटा पन्च ईभी केही कम मूल्यमा आउन सक्छ । टाटा पन्चको नयाँ फेसलिफ्ट मोडल नेपाल ल्याउने तयारी भइरहेको छ । सिप्रदी ट्रेडिङले नेपाल ल्याउने पन्च ईभी २० लाखभन्दा कम सीआइएफ मूल्यमा आउन सक्छ ।
अहिलेकै मूल्यमा आउने हो भने यसको पनि आकर्षक मूल्य कायम हुन सक्छ । यसअघि पन्च ईभीमा भन्सार २० प्रतिशत, १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो । पहिलेकै मूल्यमा फेसलिफ्ट मोडल ल्याउन सकेको खण्डमा भन्सार २० प्रतिशत र स्वच्छ निर्माण कर २.५ प्रतिशत मात्रै लाग्छ । जबकि सडक निर्माण कर पनि यो सेग्मेन्टका गाडीले २.५ प्रतिशत तिर्दा पुग्छ ।


