चीनमा सफल भए पनि नेपाल नआएका ६ ब्राण्ड

काठमाडौं । चिनियाँ बजारमा निकै ठूलो सफलता पाइरहेका आधा दर्जन ब्राण्ड अझै नेपाल आएका छैनन् । नेपाल नआएका अधिकांश ब्राण्डहरू तुलनात्मक रूपमा प्रिमियम लाग्ने भएकोले महँगो पर्ने हुँदा नआएको हुनसक्छ ।

प्रिमियमसँगै अहिलेसम्म ती ब्राण्डहरूको ध्यानमा ‘राइट ह्याण्ड ड्राइभ’ बजार नरहेको बुझ्न सकिन्छ । यहाँका व्यवसायीहरूले आयात गर्नको लागि नभनेको भने होइन । केही ब्राण्डको डिलरशिप पनि लिएका थिए । तर, मूल्यकै कारण गाडी ल्याउन भने हच्केका हुन् ।

अहिलेसम्म नेपाल नआएका मध्ये धेरै ब्राण्ड स्टार्र्टअप कम्पनी नै हुन् । यी स्टार्टअपहरू ठूला र लग्जरी गाडी बनाउन ध्यान केन्द्रित गरिरहेका छन् । त्यसैले उनीहरूको नजरमा हाम्रो जस्तो सानो बजारहरू नपरेको पनि हुन सक्छ ।

नियो

चिनियाँ प्रिमियम ईभी ब्राण्ड नियो एक स्टार्टअप कम्पनी हो । स्टार्टअपमा पनि यसले निकै राम्रो गरिरहेको छ । ब्याट्री स्वाप टेक्नोलोजी ल्याएर विश्वमा नै ईभी क्रान्तिलाई रफ्तार दिन सफल नियोसँग ठूला एसयूभी छन् । उसको सानो कारको रूपमा फायरफ्लाइ ह्याचब्याक तयार छ । नेपालमा सम्भवतः फायरफ्लाइ ब्राण्ड छिट्टै प्रवेश गर्नेछ ।

ली अटो

चीनमा फ्यामली एसयूभी सेग्मेन्टमा निकै सफल ब्राण्ड हो ली अटो । ब्याट्री इलेक्ट्रीक र ईआरईभी (रेन्ज एक्सटेन्डर) मोडल मात्रै कम्पनीले उत्पादन गर्दै आएको छ ।

ली अटोले अहिलेसम्म राइट ह्याण्ड ड्राइभ बजारमा आफ्नो उत्पादन नपठाएको कारण नेपाल पनि नआएको हो । तर, यो ब्राण्डमा धेरै व्यवसायिक घरानाले नेपाल ल्याउने प्रस्ताव पठाएका छन् ।

आइटो

चिनियाँ जाइन्ट कम्पनीहरू हुवावे र सेरेस मिलेर बनाएको आइटो ब्राण्ड पनि नेपाल आउन सकेको छैन । ठूला र पावरफुल एसयूभी मात्रै बनाइरहेको आइटो चीनमा निकै सफल स्टार्टअप ब्राण्ड मानिन्छ । आइटोले पनि अहिलेसम्म राइट ह्याण्ड ड्राइभ बजारमा आफूलाई सामेल गरेको छैन ।


भोय

डोङफेङ मोटर्सको प्रिमियम ब्राण्ड भोय निकै राम्रो एसयूभी उत्पादक हो । खासगरी एसयूभी र एमपीभी किन्नेहरूले यो ब्राण्ड रोज्छन् । अन्तर्राष्ट्रिय बजारमा लेफ्ट ह्याण्ड ड्राइभको साथ प्रवेश गरिसकेको भोय नेपाल भने आउने योजनामा तत्कालै देखिँदैन ।

होंकी

चीनको पुरानो कार निर्माता होंकी पनि अहिलेसम्म नेपाल आएको छैन । होंकीलाई चीनमा लक्जरी ब्राण्ड भनेर चिनिन्छ । यसले ईभी र प्लगइन हाइब्रिण्ड मोडल उत्पादन गर्दै आएको छ । तर, यसलाई नेपाल ल्याउने तयारीमा कुनै पनि कम्पनी देखिएका छैनन् ।


साओमी

चीनको सबैभन्दा कान्छो मोटर उत्पादन गर्ने स्टार्टअप कम्पनीको रूपमा साओमीले निकै ठूलो सफलता र चर्चा पाइरहेको छ । अहिले दुई मोडल मात्रै उपलब्ध साओमीको कार पनि निकट भविष्यमा नेपाल आउने सम्भावना भएको मोडल हो ।


Back_to_top