बी-१० एसयूभी : ५ लाख मूल्य घट्दा किन्नेलाई थप ७८ हजार फाइदा

काठमाडौं । लीपमोटरले आफ्नो क्रसओभर एसयूभी बी-१० मा एकै पटक ५ लाख रुपैयाँले मूल्य घटाएको छ । सरकारले मूल्यको आधारमा कर लगाउँदा बी-१० को मूल्य घटेको हो ।

कम्पनीले घटाएको मूल्य अनुसार उपभोक्ताले पहिलेको भन्दा २ लाख रुपैयाँ कम डाउन पेमेन्ट र मासिक ४ हजार ५०० रुपैयाँ हाराहारी कम रकम किस्ता बापत तिर्दा पुग्ने भएको हो ।

झट्ट हेर्दा ५ लाख रुपैयाँ घटेको देखिए पनि बैंकबाट कर्जा लिएर किन्ने उपभोक्ताले अतिरिक्त ७८ हजारको फाइदा पाउने छन् । उक्त फाइदा ५ लाख रुपैयाँमा लाग्ने ब्याजदरको हो ।

अहिले बैंकको ब्याजदर इतिहासकै कम छ । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले पनि बी-१० एसयूभीमा ५.९६ प्रतिशतको ब्याजदर अफर गरिरहेको छ । यही ब्याजदरलाई मात्रै केन्द्रमा राख्दा पनि ७८ हजार रुपैयाँ कम तिर्दा पुग्ने देखिएको हो ।

मूल्यमा फरक

यसअघि ५९ लाख ९९ हजार मूल्य रहेको बी-१० एसयूभीमा कम्पनीले ५ लाख रुपैयाँ घटाएको हो । साँग्रिलाले आयात गर्ने बी-१० मा यसअघि भन्सार, अन्तःशुल्क, सडक निर्माण कर र मूल्य अभिवृद्धि कर गरेर ८५.०९ प्रतिशत कर लाग्दै आएको थियो ।

सरकारले मूल्यको आधारमा कर निर्धारण गरेपछि बी-१० एसयूभीमा ७०.८६ प्रतिशत कर लागेको छ । साँग्रिला मोटर्सका अनुसार चिनियाँ युआनको बढ्दो दरका कारण मूल्य ५ लाखले मात्रै बढाउन सकेको जनाएको छ ।

डाउन पेमेन्टमा फरक

मूल्य नै ५ लाखले घटेपछि डाउन पेमेन्ट फरक पर्ने नै भयो । सबै किसिमका सवारी साधनमा मूल्यको ४० प्रतिशतले हुन आउने रकम डाउन पेमेन्ट बापत बुझाउनु पर्छ । त्यसैले नयाँ घटेको मूल्यमा २ लाख कम डाउन पेमेन्ट गर्दा पुग्छ ।

यसअघि २४ लाख रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्नेमा नयाँ मूल्य अनुसार २२ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

मासिक किस्तामा फरक

बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून भएको कारण कम्पनीहरूले कर्जा प्रवाहमा पनि तानातान गरिरहेका छन् । जसमा साँग्रिला मोटरले ५.९६ प्रतिशत ब्याजदरमा कर्जा अफर गरेको छ ।

कम्पनीले अफर गरेको ब्याजदरको आधारमा ८४ किस्तामा कर्जा भुक्तानी गर्नेगरी बी-१० एसयूभी किन्दा पहिलेको मूल्य अनुसार ५२ हजार ५१५ पर्थ्यो । नयाँ मूल्य अनुसार ४८ हजार १४२ रुपैयाँ किस्ता तिर्नेगरी किन्न सकिन्छ ।


Back_to_top