काठमाडौं । सीएफमोटोको रेन्वो ट्राउट राइड हुने भएको छ । सीएफमोटो नेपालले यही शनिबार ‘२५० डुअल रेन्वो ट्राउट राइड’ आयोजना गर्ने भएको हो ।
कम्पनीको नक्साल नारायण चौरमा रहेको सोरुमबाट सुरु हुने यो राइड आशापुरी ड्रिम रिसोर्टसम्म पुगेर समापन हुनेछ ।
सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल राइडहरुका लागि यो राइड आयोजना गर्न लागेको जानकारी दिएको छ । सीएफमोटो २५० डुअल राइडरहरु बीच आपसी सम्बन्ध सुदृढ गर्न र आन्तरिक पर्यटनमा प्रवद्र्दन गर्नका लागि यो राइड आयोजना गर्न लागिएको कम्पनीको जनरल मेनेजर उज्वल जोशीले जानकारी दिए ।
कम्पनीले विभिन्न समयमा यस्ता राइड कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
हालै मात्र नेपाली बजारमा सार्वजनिक भएको डवल पर्पस मोटरसाइकल २५० डुअल निकै रुचाइएको मोटरसाइकल बन्दै गएको छ ।
यस्तो छ मोटरसाइकल
सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।
मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुवैका लागि उपयुक्त हुनेछ।
अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।


