मधेस प्रदेश सरकारले निजी क्षेत्रसँग मिलेर चार्जिङ सेन्टर बनाउने

काठमाडौं । मधेस प्रदेश सरकारले निजी क्षेत्रसँग मिलेर विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउने भएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री युवराज भट्टराइले सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले पेस गरेको बजेटमा यातायात क्षेत्रमा ईभीलाई प्रोत्साहन गर्ने विषय उल्लेख छ । मधेस प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सार्वजनिक निजी साझेदारी मोडलमा विद्युतीय सवारी चार्जिङ स्टेसन, विश्राम स्थल र स्मार्ट पार्किङ सुविधा सहितको बसपार्क निर्माण गर्ने उल्लेख गरिएको छ ।

यसका अलावा मधेस प्रदेश सरकारले आफ्नो बजेटमा यातायात कार्यालयमा हुने भिडभाड र बिचौलियाको प्रभाव निरुत्साहीत गर्न सवारी चालक अनुमति पत्र, ब्लूबुक नवीकरण र सवारी साधन दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन भुक्तानी र टोकन प्रणालीमा रुपान्तरण गर्ने कुरा बजेटमा उल्लेख छ ।

बजेटले भेहिकल फिटनेस सेन्टर र अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सम्बन्धी ब्यवस्था गर्ने कुरा समेटेको छ । मधेस सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने, विद्युतीय बसलाई रुट परमिटमा छुट दिने र मुख्य राजमार्ग तथा सहरी क्षेत्रमा आधुनिक चार्जिङ स्टेसन निर्माण गर्ने जनाएको छ ।


Back_to_top