काठमाडौं । सरकारले काठमाडौंको थानकोटदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माण गर्ने भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल १५० किलोमिटर लामो दूरीको मेट्रो रेल चलाउने गरी ‘ट्रान्सपोर्टेसन मास्टर प्लान’ तयार पर्ने काम भइरहेको छ ।
उनले आगामी आर्थिक वर्षभित्र मास्टर प्लान तयार पारिने र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)का लागि तयार पार्न प्रस्ताव आह्वान गरिने बताए ।
उनले मेट्रो रेलका लागि नयाँ गुरु योजना बनाइ रहेकाले तत्काललाई काठमाडौंमा मेट्रो रेल निर्माणको योजना हाललाई स्थगित गरिएको जानकारी दिए ।
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले गत जेठ १ गते काठमाडौं उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि डीपीआर बनाउन प्रस्ताव आह्वान गरेको थियो । नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल २७.५ किमी रेलमार्ग बनाउने भनिएको थियो ।


