काठमाडौं । विद्युतीय कारको मुख्य लागत नै ब्याट्री र मोटर मानिदै आएको छ । चिनियाँ ब्याट्री निर्माताहरूले पनि विगत लामो समयदेखि सोडियम आयन ब्याट्री विकासमा लगानी गर्दै आएका छन् ।
विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले मात्रै सन् २०१६ पछि १.४ अर्ब अमेरिकी डलर सोडियम ब्याट्रीको अनुसन्धानमा खर्च गरिसकेको जनाएको छ । उसले अनुसन्धान थालेको १० वर्षपछि उत्पादन पनि सुरू गर्न सफल भएको हो ।
अहिले सोडियम आयन ब्याट्रीको व्यवसायिक उत्पादन सुरू भइसकेको छ । साना यातायातका साधन र ऊर्जा भण्डारणमा प्रयोग गर्न थालिएको सोडियम ब्याट्रीको ठूलो परिमाणमा उत्पादन थाल्ने घोषणा सीएटीएलले गरिसकेको छ । सन् २०२६ को अन्तिमबाट मास प्रोडक्सन सुरू हुन्छ ।
सीएटीएलका अनुसार सोडियम आयन ब्याट्रीमा देखिएका मुख्य समस्या समाधान भइसकेका छन् । अहिलेसम्म १०० भन्दा बढी चुनौती आएको र त्यसको सकुशल समाधान भएको सीएटीएलले उत्पादन घोषणा गर्दा बताएको थियो ।
कम्पनीका अनुसार अहिले पनि ऊर्जा घनत्व बढाउने, उत्पादन लागत कम गर्ने र सोडियम ब्याट्रीको ठूला उत्पादन कारखाना खोल्ने विषयमा काम भइरहेको छ ।
ईभीको मूल्य घटाउने अस्त्र बन्ला ?
विद्युतीय कारको मूल्य घटाउने अस्त्रको रूपमा व्याख्या हुँदै आएको सोडियम आयन ब्याट्री अहिलेसम्मको प्रक्षेपण अनुसार लिथियम आयनको तुलनामा ३० देखि ४० प्रतिशतसम्म सस्तो पर्ने रिपोर्टहरू आएका छन् ।
यसको मूल्य कम हुन ठूलो परिमाणमा उत्पादन हुनुपर्छ । तर, अहिले नै ४०० देखि ६०० किलोमिटरसम्म रेन्ज दिने गाडीको लागि उपयुक्त हुनेगरी इनर्जी स्टोरेज गर्न सोडियम ब्याट्री सक्षम भइसकेको छैन ।
त्यसैले अहिले नै इलेक्ट्रीक एसयूभीको मूल्य घटाउन सोडियम आयन ब्याट्री सक्षम हुन्छ भन्नु हतारो हुन्छ । तर, साना ईभीको मूल्य कटाैतीमा भने यसले सहयोग गर्ने निश्चित जस्तै देखिन्छ । त्यसको लागि पनि अझै १ देखि २ वर्षसम्म कुर्नु पर्नेछ ।


