काठमाडौं । जापानी कार निर्माता माज्दाको ‘सिक्स ई’ इलेक्ट्रीक लिफ्टब्याक एसयूभी राइट ह्याण्ड ड्राइभमा आएको छ ।
चीनमा उत्पादन भएको राइट ह्याण्ड माज्दा सिक्स ई पहिलोपटक थाइल्याण्डका देखिएको हो । थाइराथ अनलाइनका अनुसार ५०० युनिट आरएचडी सिक्स ई कार शुक्रबार थाइल्याण्डको पट्टाया सहरको उत्तरमा पर्ने लेम चाबाङ बन्दरगाहमा आइपुगेको हो ।
माज्दाले आरएचडी सिक्स ई आगामी जुलाइमा थाइल्याण्ड र अष्ट्रेलियामा लन्च गर्ने तयारी गरिरहेका छ । त्यसलगत्तै कम्पनीले वेलायतमा पनि लन्च गर्ने योजना बनाएको छ ।
साथै, चाँडै आरएचडी बजारहरू सिंगापुर, हङकङ, इन्डोनेसिया, मलेसिया लगायत देशमा पनि लन्च हुनेछ । हाल नेपालमा माज्दाका आइस गाडी बिक्री भइरहेकाले सम्भवतः नेपालमा पनि आउन सक्नेछ । यद्यपि, कम्पनीले आफ्नै देश जापानमा भने लन्चको कुनै योजना बनाएको छैन ।
माज्दा सिक्स ई चीनमा रहेको चांगन-माज्दाको नानजिङ प्लाण्टमा उत्पादन भएको हो । चीनमा यसलाई माज्दा ईजेट-६ को नामले चिनिन्छ ।
माज्दा सिक्स ईको लम्बाइ ४,९२१ एमएम, चौडाइ १,८९० एमएम, उचाइ १,४८५ एमएम र ह्वीलबेस २,९०० एमएम छ। यसको कुल तौल पावरट्रेन र भेरियन्ट अनुसार १७७८ देखि २,०३७ केजीसम्म रहेको छ । यसमा अगाडि म्याकफर्सन स्ट्रट्स र पछाडि मल्टिलिंक सस्पेन्सन दिइएको छ ।

माज्दा सिक्स ई प्योर ईभी र ईआर ईभी दुवै भर्सनमा उपलब्ध छ । सिक्स ई चांगनको ईपीए वान प्लेटफर्ममा बनेका छ । जुन दीपल एसएल ०३ र एल ०७ सेडान कारहरूसँग मिल्दाजुल्दा छन्।
चीनमा ईजेट ६ मा ५६.१ र ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ४८० र ६०० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । यसमा १९० किलोवाटको मोटर छ ।
माज्दा आरएचडी ६ ई मोडेलहरूमा सीएटीएल-चांगनद्वारा बनाएको ७८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । माज्दा अष्ट्रेलियाका अनुसार यो नयाँ ब्याट्री प्याकले गाडीको रेन्ज र फास्ट चार्जिङ दुवैलाई बढाउँछ । जसले गर्दा ६ई एकपटकको फुल चार्जमा ५६० किलोमिटर गुड्न सक्छ । यो विकल्प युरोपमा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।


