सोलिड स्टेट ब्याट्री उत्पादनमा किन हुँदैछ ढिलाइ, यी हुन् ५ कारण

काठमाडौं । बहु चर्चित सोलिड स्टेट ब्याट्री उत्पादनमा चिनियाँ कम्पनीहरूले समय फेर्न थालेका छन् । सन् २०२६ बाटै उत्पादनमा आउने भनेर चर्चा कमाएको सोलिड स्टेट ब्याट्री सन् २०३० बाट मात्रै संख्यात्मक रूपमा उत्पादन हुने भएको हो ।

चिनियाँ कम्पनी बीवाइडीले सोलिड स्टेट ब्याट्रीमा यही वर्ष ‘ब्रेक थ्रु’ हुने बताएको छ । तर, यसको मास उत्पादन भने आउन थप समय लाग्ने जानकारी दिएको छ । कम्पनीले ठिक तरिकाले काम भएमा सन् २०३० बाट मात्रै मास प्रोडक्सनमा जान सक्ने बतायो ।

विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलले पनि सन् २०३० मा मात्रै सोलिड स्टेट ब्याट्री बजारमा आउने जनाएको छ । अझ एसभोल्ट जस्ता कम्पनीले त पहिला सेमी सोलिड स्टेटमा सफलता पाएपछि मात्रै पूर्ण सोलिड स्टेट ब्याट्री ल्याउनु पर्ने मत राखेको छ ।

जापानी कार निर्माता टोयोटा र होण्डाले पनि यसमा काम गरिरहेका छन् । टोयोटाले यसको व्यवसायिक उत्पादन २०२८ बाट हुने जनाएको छ । होण्डा पनि क्रमिक रूपमा सफलताको बाटोमा रहेको रिपोर्टहरू बाहिर आएका छन् ।

विश्वभर तत्कालै आउन लागे जसरी चर्चा गरिएको सोलिड स्टेट ब्याट्री उत्पादनमा जान ढिलाई हुनुका मुख्य ५ कारण यस प्रकार छन् ।

१. प्रयोगशालामा मात्रै पास हुनु

अहिलेसम्म सोलिड स्टेट ब्याट्रीको उत्पादन प्रयोगशालामा मात्रै भएको छ । अहिलेसम्म आएका समाचार प्रयोगशालामा भएको उपलब्धिको हो । अब यसलाई उत्पादनमा लान प्लाण्टहरू तयार पार्नुपर्ने हुन्छ ।

कम्पनीहरूले प्लाण्ट बनाएर लाखौं सेल एउटै गुणस्तरमा गर्नु पर्नेछ । साथै, ऊर्जा घनत्व, लागत र ब्याट्री लाइफमा पनि काम गर्नु पर्ने हुन्छ । त्यसको लागि पहिला सानो स्केलमा उत्पादनपछि गाडीमा परीक्षण गर्नेछन् । त्यसैले परीक्षणमा जानको लागि थप समय लाग्ने निश्चित छ ।

२. लिथियम ड्रेनड्राइटको जोखिम

सोलिड स्टेट ब्याट्रीमा उच्च ऊर्जा घनत्व पाउनको लागि लिथियम मेटल आकर्षक हो । तर, यसमा ड्रेनड्राइड बढे ब्याट्री सुरक्षामा चुनौती थपिन्छ । सर्ट सर्किटको सम्भावना बढाउँछ । त्यसैले लिथियम मेटललाई सुरक्षित बनाउन अझै धेरै काम बाँकी रहेको बताइन्छ ।

३. ‘सोलिड इन्टरफेस’ अर्को टाउको दुखाइ

तरल इलेक्ट्रोलाइटमा आयन चलायमान हुन निकै सजिलो हुन्छ । सोलिड स्टेट ब्याट्रीमा ठोस इलेक्ट्रोलाइट र इलेक्ट्रोड बीचको सम्पर्क बिग्रिए रेसिस्टेन्स बढ्छ । त्यसले चार्जिङ र डिस्चार्जिङ क्षमता घटाउँछ । ब्याट्रीको लाइफ साइकल नै बिगार्न सक्छ । यो विषयलाई सीएटीएलले सबैभन्दा कठिन समस्या मानेको छ ।

४. उत्पादन लागत

धेरैले सोलिड स्टेट ब्याट्री अहिले चल्तीका लिथियम आयन ब्याट्रीभन्दा सस्तो आउँछ भनेर चर्चा गरिरहेका छन् । तर, वास्तवमै सस्तो आउँछ भन्ने कुरामा ब्याट्री निर्माताहरू विश्वस्त हुन सकिरहेका छैनन् । उनीहरूले तत्काल यसको उत्पादनमा धेरै जोखिम देखेका छन् ।

५. लिथियम ब्याट्रीमा व्यापक सुधार

अहिले बजारमा चल्तीमा रहेको लिथियम आयन ब्याट्री तीव्र्र गतिमा सुधार भएको कारण पनि चिनियाँ ब्याट्री उत्पादकको छनोटमा सोलिड स्टेट ब्याट्री नपरेको हुन सक्छ । अहिले रहेका ब्याट्री नै १० मिनेटमा फुलचार्ज हुने क्षमता राख्छन् । रेन्जमा पनि १ हजार किलोमिटरसम्म सहजै पाइने अवस्था छ । त्यसले उत्पादकलाई हतारो नभएको हुन सक्छ ।


Back_to_top