काठमाडौं । नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ ।
निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरको पार्किङबाटै हराएको नवीन ढुवानी सेवा प्रालिको ‘को१ ख ६१९०’ नम्बरको ट्यांकरबाट उक्त परिमाणमा पेट्रोल चोरी भएको हो ।
आइतबार भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी आएको ट्याङकर सोमबार राति पार्किङबाटै हराएको थियो ।त्यसलगत्तै नेपाल आयल निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजी कार्य सुरू गरेको थियो । सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ः०३ बजे पार्किङ स्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो ।
खोजीका क्रममा मंगलबार ट्यांकर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका-८ अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरीले मुचुल्का तयार पारी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
बुधबार (असार १० गते) जिल्ला प्रशासनसहित सरोकारवाला पक्षको रोहवरमा ट्यांकरको सिल खोली पेट्रोलको गुणस्तर र परिमाण चेकजाँच गरिएको थियो । सो क्रममा पेट्रोलको गुणस्तर सामान्य रहे पनि ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको हो । निगमका अनुसार २० हजार लिटर पेट्रोल लोड भएको उक्त ट्यांकरमा १९ हजार २७ लिटर मात्रै पेट्रोल रहेको हो ।
ढुवानीकर्ताबाट पेट्रोलियम पदार्थ ढुवानी विनियमावली-२०७३ अनुसार चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर रकम असुल गरिएको निगमले जनाएको छ ।



