टाेयोटाले क्राउन फ्यामलीका सबै मोडल अपडेट गर्ने

काठमाडौं । टायोटाले आफ्नो क्राउन फ्यामलीका सबै मोडलहरू अपडेट गर्ने भएको छ । बाहिर आएका समाचारहरूका अनुसार कम्पनीले क्राउन सिरिजमा रहेका सबै मोडल अपडेट गर्ने भएको हो ।

कम्पनीले क्राउन क्रसओभर, क्राउन स्पोर्ट र क्राउन सेडानको डिजाइनमा हल्का परिवर्तन र केही मेकानिकल परिवर्तन गर्न लागेको हो । अपडेटेड भएर आउने मोडलहरू सेप्टेम्बर ३ देखि जापानमा बिक्री सुरू हुने बताइएको छ ।

मिडिया रिपोर्टअनुसार सबैभन्दा पहिले क्राउन क्रसओभरमा केही हेर्दा देखिने र प्राविधिक परिमार्जन हुनेछ । सन् २०२२ को मध्यतिर बिक्रीमा आएको उक्त मोडलले क्राउन सिरिजको सुरूवात गरेको थियो । अब यसमा बाहिरी डिजाइनलाई थप आकर्षक बनाउन टु-टोन कलर स्किम थपिने सम्भावना छ ।

यसअघि प्रयोग हुँदै आएको कलर नगरिएको प्लास्टिक क्ल्याडिङमा ग्लस ब्ल्याक फिनिस दिइने छ । साथै, आरएस भेरियन्टमा रातो ब्रेक क्यालिपर पनि दिइनेछ ।

क्राउन क्रसओभरमा अर्को सम्भावित परिवर्तन ‘२०२ ब्ल्याक’ पेन्टको स्थानमा ‘न्यूट्रल ब्ल्याक’ रङ दिइने छ । साथै, यसको हाइब्रिड सिस्टममा पनि परिमार्जन हुन सक्ने बताइन्छ । यसमा प्रयोग भएको इलेक्ट्रीक मोटरको आउटपुट बढ्न सक्छ । प्याडल सिफ्टरको प्रयोग सबै भेरियन्टमा हुने सम्भावना छ ।

टोयोटाले क्राउन स्पोर्टमा पनि केही परिवर्तन गर्नेछ । यसको भने नयाँ भेरियन्ट थपिने सम्भावना धेरै छ । जुन भेरियन्ट अहिलेको टपभन्दा सस्तो हुनेछ । जसले ग्राहकलाई प्लग-इन हाइब्रिड विकल्प रोज्दा कम खर्च गर्दा पुग्नेछ ।

कम्पनीले राम्रा फिचरमा पनि कटौती गर्न लागेको शंका गरिँदैछ । अगाडिको ब्रेक डिस्कको साइज २० इन्चबाट १८ इन्चमा झार्न लागिएको रिपोर्टहरूले दाबी गरेका छन् । यसलाई लागत घटाउने रणनीतिका रूपमा हेरिएको छ ।

क्राउन क्रसओभर, स्पोर्ट र सेडानका सबै अपडेटेड भेरियन्टमा डिजिटल की स्ट्यान्डर्ड रूपमा उपलब्ध हुनेछ । साथै, गाडीको की फोबको डिजाइनमा पनि सामान्य परिमार्जन हुनेछ ।

जापानी डिलर स्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार टायोटाले अपडेटेड क्राउन मोडलहरूको बुकिङ जुलाइको अन्तिम सातादेखि अगस्टको सुरूवातसम्म खुला गर्न सक्छ । त्यसपछि यी मोडलहरू सेप्टेम्बर ३ देखि बजारमा बिक्री सुरू हुने सम्भावना छ ।


Back_to_top