काठमाडौं । हिरो मोटोकर्पको इलेक्ट्रीक स्कुटर ब्राण्ड भिडाका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आगामी जुलाइ महिनादेखि भिडाका इलेक्ट्रीक स्कुटर बिक्री गर्ने भएको हो ।
कम्पनीले हाल भिडाको परिस्कृत उत्पादन भी-२ मोडल नेपाल ल्याएर परीक्षण गरिरहेको छ । कम्पनीले कुन कुन भेरियन्ट ल्याएर परीक्षण गरिरहेको भन्ने चाहिँ जानकारी दिएको छैन ।
सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडा इलेक्ट्रीक ब्राण्ड जुलाइ महिनामा लन्च गर्ने जानकारी दिए । उनले नेपाली उपभोक्ताको गुणस्तरीय इलेक्ट्रीक स्कुटर चढ्ने चाहना पूरा गर्न भिडाका उत्पादन सक्षम हुने बताए ।
‘हामी भिडा इलेक्ट्रीक ब्राण्ड आगामी जुलाइ महिनामा लन्च गर्ने छौं । नेपाली उपभोक्ताको गुणस्तरीय इलेक्ट्रीक दुईपाङ्ग्रे चढ्ने चाहना पूरा गर्न भिडाका उत्पादन सक्षम हुनेछन्,’ उनले भने ।
नेपालमा आउनुअघि नै भारतमा भिडा ब्राण्डका स्कुटरले ब्याट्री, रेन्ज र फिचरको संयोजनका कारण चर्चा पाएको थियो । त्यसैले नेपाली ग्राहकका लागि भिडाका उत्पादन उपयोगी हुने अनुमान गर्न सकिन्छ ।
प्रबन्ध निर्देशक चौधरीले नेपाल ल्याएको भिडा-२ स्कुटरको बारे कुनै जानकारी दिएनन् । तर, भारतमा बिक्री भइरहेको भिडा-२ मा भेरियन्ट अनुसार २.२ किलोवाट आवर, ३.४४ किलोवाट आबर र ३.९४ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन उपलब्ध हुनेछ । तीन भेरियन्टको रेन्ज पनि क्रमशः ९४ किलोमिटर, १४३ किलोमिटर र १६५ किलोमिटर रहने आईडीसीको परीक्षणले देखाएको छ ।
भिडा-२ स्कुटरको बेस भेरियन्टदेखिनै दुई राइड मोड पाउन सकिन्छ । ७ इन्चको टीएफटी डिस्प्ले, की-लेस फंक्शन, एलईडी लाइटिङ, रिजनरेटिभ ब्रेकिङजस्ता फिचरहरू यसका आकर्षण हुन् ।
भिडा हिरो मोटोकर्पको इलेक्ट्रीक ब्राण्ड हो । भारतमा कम्पनीले भी-२सँगै अझ किफायती भीएक्स२ जस्ता मोडल पनि ल्याइसकेको छ ।
भिडा २ मोडलले एथर, बजाज चेतक, टीभीएस आइक्युब जस्ता स्कुटरसँगै थुप्रै चिनियाँ ब्राण्डसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
अमेरिका इरान युद्धपछि बढ्दो पेट्रोलको मूल्यका कारण नेपालमा विद्युतीय स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा भिडा भी-२ उपयोगी बन्न सक्ने देखिन्छ ।
रेन्जको हिसाबले यो दैनिक प्रयोगका लागि पर्याप्त देखिन्छ। काठमाडौं उपत्यका वा पोखरा, बुटवल, विराटनगरजस्ता सहरमा घर-अफिस-बजारको दैनिक आवतजावतको लागि यी स्कुटर प्रयाप्त हुन्छ ।
यसमा झिकेर चार्जमा हाल्न मिल्ने ‘रिमुबेवल’ ब्याट्री दिइएको छ । त्यसैले प्रयोगकर्ताले अपार्टमेन्ट वा साझा पार्किङ भएको घरमा बस्दा पनि चार्ज गर्न सक्छन् ।


