काठमाडौं । नेपाली बजारमा इन्डिया मेड एमजीको नयाँ मोडल ‘कम्युट ईभी’ सार्वजनिक भएको छ ।
नेपालका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले एमजी कम्युट ईभी बिक्री सुरु गरेको हो ।
कम्पनीले क्रसओभर युटिलिटी भेहिकल (सीयूभी)को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्युट ईभी विण्डर ईभीकै फ्यामिली सेग्मेन्ट हो ।
यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । ३८ किलोवाट आवरको ब्याट्री प्याक रहेको एमजी कम्युटले एकपटकको फुलचार्जमा ३३२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यो क्रसओभर युटिलिटी भेहिकल परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुनेछ । गाडीमा पर्याप्त लगेज स्पेस र लेगरुम, आरामदायी सिट, सहज र किफायती स्पेयर पाट्र्स उपलब्ध गराइएको छ ।
यसको इन्टेरियर यात्रु केन्द्रित बनाइएको छ । यसमा १३५ डिग्रीसम्म झुकाउन मिल्ने सिट, बहुयात्रु यात्रालाई सहज बनाउने फ्ल्याट लेआउट र ६०४ लिटर क्षमताको फराकिलो लगेज स्पेस उपलब्ध छ ।

कम्युट ईभीमा ३.३ किलोवाटको पोर्टेबल चार्जिङ केबल स्ट्यान्डर्ड रूपमा उपलब्ध छ । साथै गाडीमा अल डिस्क ब्रेक, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल र स्पेयर टायरका लागि छुट्टै स्थान राखिएको छ ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले कम्युट ईभी नेपाली बजारमा कम मूल्यमा उपलब्ध शक्तिशाली र ठूलो गाडी भएको बताए ।
‘अहिलेको सन्दर्भमा नेपालका लागि उपयुक्त कम्युट ईभी नै हो । बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको छ । यो कम मूल्यमा उपलब्ध शक्तिशाली र ठूलो गाडी हो, जसमा अनावश्यक सुविधा थपेर लागत बढाइएको छैन,’ उनले भने, ‘आराम, पर्याप्त स्थान र समयलाई प्राथमिकता दिने ग्राहकका लागि यो उत्कृष्ट विकल्प हो ।’
नेपालको आतिथ्य तथा पर्यटन क्षेत्र विस्तार भइरहेका बेला कम खर्च र यात्रुको सहजतालाई ध्यानमा राखेर कम्युट ईभी ल्याइएको उनको भनाइ छ ।


