काठमाडौं । नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० फोरभीको अपडेटेड मोडल भोलिदेखि बिक्री सुरू हुने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले शनिबार अल न्यू मोडल अपाचे आरटीआर १६० फोरभी सार्वजनिक गर्ने भएको हो ।
आरटीआर १६० फोरभी भारतमा सिंगल च्यानल एबीएस, डुअल च्यानल एबीएस एण्ड यूएसडी फोर्क र यूएसडी एण्ड टीएफटी गरी ३ भेरियन्टमा उपलब्ध छ । तीमध्ये कम्पनीले नेपालमा यूएसडी एण्ड टीएफटी भेरियन्टमा ल्याएको हो ।
टीभीएस मोटरले आरटीआर १६० फोरभीलाई विभिन्न फिचरहरू थपेर अझै प्रिमियम बनाएर ल्याएको हो । अल न्यू आरटीआर १६० फोरभीमा प्रोजेक्टर हेडल्याम्प, ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस, टीएफटी डिस्प्ले लगायत फिचर थपिएर आएको छ ।
रेसिङ डीएनए, स्मार्ट टेक्नोलोजी, स्पोर्टी ग्रफिक्स र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको यो मोटरसाइकल युवा र प्रदर्शनमुखी राइडरहरूलाई लक्षित गरेर विकसित गरिएको हो । १६० सीसी क्षमताको भएपनि यसमा निकै एड्भान्स फिचरहरू पाइन्छ ।
अल न्यू अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसीको सिंगल सिलिण्डर आयल कुल्ड, फोर भल्ब, एसओएचसी, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १७.५५ पीएस पावर तथा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।
यसमा टीभीएस स्मार्ट कनेक्ट सिस्टम, एबीएस सिस्टम, पेटल डिस्कब्रेक, ट्रयाक्सन कन्ट्रोल, तीन राइड मोड, प्रोजेक्टर हेडल्याम्प, एलईडी लाइट सेटअप, डीआरएल, यूएसडी फोर्क र रियर मोनोसक, एड्जस्टेबल ब्रेक एण्ड क्लच लिभर, असिस्ट एण्ड स्लिपर क्लच, हाइड्रोफर्म ह्याण्डलबार, अलोय ह्वील, ट्युबलेस रेडियल टायर लगायतका फिचरहरू छन् ।
कम्पनीले अल न्यू आरटीआर १६० फोरभीको मूल्य बारे कुनै जानकारी दिएको छैन । करिब ४ लाख २० हजार रुपैयाँ हाराहारीमा बिक्री सुरू हुने अनुमान गरिएको छ ।


