नयाँ सुजुकी GSX250R चीनमा बिक्री सुरू, हायाबुसाको डिजाइन र भीभीए इन्जिन

काठमाडौं । सुजुकीले आफ्नो नयाँ GSX250R माेटरसाइकल चीनमा सार्वजनिक गरेकाे छ । हायाबुसाको डिजाइन र भीभीए इन्जिनमा सुजुकीले स्पोर्ट्स मोटरसाइकल सार्वजनिक गरेको हाे ।

अहिले चीनमा मात्रै बिक्री हुने GSX250R मोटरसाइकल भविष्यमा अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री थालिने छ । नयाँ GSX250R चीनमा सुजुकी र हाओजुएको संयुक्त लगानीमा उत्पादन गरिएको हो । चीनको मिनिस्ट्री अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजीमा पेस भएको बिबरण अनुसार हायाबुसाको डिजाइन र भीभीए इन्जिन रहने खुलासा भएको हो ।

डिजाइनका हिसाबले नयाँ GSX250R मा अगाडिको फ्यासियामा हायाबुसासँग मिल्दोजुल्दो डिजाइन देखिन्छ । सम्पूर्ण बडीमा फुल फेयर्ड सुपरस्पोर्ट शैली अपनाइएर बनाइएको छ ।

अगाडिको भागमा एरोडाइनामिक विङलेट राखिएको छ । यसले उच्च गतिमा थप डाउनफोर्स सिर्जना गरी कर्नरिङ गर्दा स्थिरता प्रदान गर्ने छ । फेयरिङमा जडान गरिएका ओआरभीएम र एरोडाइनामिक फ्रन्ट विन्डस्क्रिनले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाएको देख्न सकिन्छ ।

यसको राइडिङ पोजिसन पनि सुपरस्पोर्ट बाइक जस्तै बनाएर तयार गरिएको छ। लो-सेट क्लिप-अन ह्यान्डलबार, रियर-सेट फुटपेग र केही अग्लो पछाडिको सिट प्रयोग भएको छ । पछाडि बस्ने यात्रुको लागि लामो दूरी यात्रा गर्न सजिलो बनाइएको छ ।

GSX250R मा टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन, म्युजिक कन्ट्रोल लगायतका फिचर रहने अनुमान गरिएको छ। सस्पेन्सनका लागि अगाडि आरएसयू टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन सेटअप रहने छ ।

ब्रेकिङका लागि अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस उपलब्ध हुनेछ। साथै यसमा १७ इन्चका एलोय ह्विल र निकै चौडा टायर प्रयोग भउको छ ।

नयाँ GSX250R मा एसओएचसी सेटअप भएको नयाँ २५० सीसी क्षमताको इन्जिन दिइएको छ । यसले करिब ३० पीएस पावर प्रदान गर्ने अपेक्षा गरिएको छ। इन्जिनमा भेरिएबल भल्भ एक्टुएसन (VVA) प्रविधि प्रयोग भएको कारण उच्च आरपीएममा राम्रो प्रदर्शन मिल्ने विश्वास गरिएको छ ।


Back_to_top