रियर ह्वील ड्राइभमा आउँदै बीवाइडी ‘एटो टु’

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो चर्चित इलेक्ट्रीक क्रसओभर एसयूभी ‘एटोे २’को नयाँ संस्करण रियर ह्वील ड्राइभमा ल्याउने भएको छ ।

चीनको सडकमा परीक्षणका क्रममा देखिएको एटो टुको स्पाइ तस्बिरहरूले एटो टु रियर ह्वील ड्राइभमा आउने स्पष्ट संकेत गरेको हो । एटो टु हाल फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ ।

चिनियाँ बजारमा ‘युआन यूपी’ नामले चिनिने यो गाडीमा कम्पनीले एटो टुकाे च्यासिस, ड्राइभ ट्रेन र प्रविधिमा महत्त्वपूर्ण अपग्रेड गरेको छ । चीनमा उपलब्ध हुने नयाँ एटो टुमा १०० र १२० किलोवाटका दुई वटा मोटर विकल्पमा उपलब्ध हुनेछ ।

मोटरलाई पछाडि सारेसँगै गाडीभित्र बस्ने ठाउँ निकै बढेको छ । यसको ह्वीलबेस १५० मिलिमिटरले बढेर २,७७० एमएम पुगेको छ । जसले गर्दा पछाडिको सिटमा लेगरुम अझ बढी आरामदायी हुनेछ । नयाँ एटो टुको लम्बाइ पनि थोरै बढ्ने देखिन्छ ।

चिनियाँ ग्राहकहरूको गुनासोलाई सम्बोधन गर्दै बीवाइडीलेले चार्जिङ पोर्टलाई अगाडिको फेण्डरबाट सारेर गाडीको पछाडिपट्टि राखेको छ । चीनमा चालकहरू गाडी ब्याक गरेर पार्क गर्न बानी परेका हुनाले पछाडि चार्जिङ पोर्ट राख्दा चार्ज गर्न निकै सजिलो हुनेछ ।

गाडीलाई अझ सुरक्षित र स्मार्ट बनाउन यसमा ऐच्छिक रूपमा लाइडार सेन्सर र बीवाइडीकोको अत्याधुनिक डिपायलट ३०० असिस्टेड ड्राइभिङ प्रणाली दिनेछ। यो सेन्सरले बाटोका अवरोधहरूलाई सटिक रूपमा पहिचान गरी दुर्घटना हुनबाट जोगाउँछ ।

कम्पनीले ब्याट्रीमा पनि कुनै परिवर्तन नगर्ने देखिएको छ । कम्पनीले पछिल्लो समय बजामार ल्याएका नयाँ मोडलहरूमा फ्यास चार्जिङ दिए पनि एटो टुमा भने छैन । नयाँ एटो टुमा ४२ किलोवाट आवर र ५२ किलोवाट आवरका दुईवटा ब्याट्री प्याक उपलब्ध हुनेछन् । जसले एकल चार्जमा क्रमशस् ४१० र ५०५ किलोमिटरसम्म सीएलटीसी रेन्ज दिनेछ । यसमा कम्पनीको पहिलो पुस्ताकै प्रसिद्ध ब्लेड ब्याट्री प्रयोग हुने्छ ।

बीवाइडीले नयाँ एटो टुको सबै भेरियन्टमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टी लिंक सस्पेन्सन दिने अपेक्षा गरिएको छ । जसले एटो टुलाई अझ आरामादायी बनाउने छ ।

नयाँ एटो टुको बाहिरी डिजाइनमा भने कस्मेटिक परिवर्तन मात्र हुने देखिन्छ । नयाँ कारको अगाडिको बम्परमा भएको रङ्गीन तल्लो भाग हटाइएको छ । यसको इन्टेरियरमा पनि खासै ठूलो परिवर्तन नहुने अपेक्षा छ ।


Back_to_top