निसान ‘टेकटन’मा के छ खास ? अटो एक्स्पोमा नेपाल आउने सम्भावना

काठमाडौं । निसान किक्स बन्द गरेपछि मिडसाइज एसयूभी सेग्मेन्टमा चुपचाप बसेको कम्पनीले नयाँ मोडल ल्याउने भएको छ । भारतीय बजारलाई मध्यनजर गर्दै आउन लागेको ‘निसान टेकटन’ जुलाइ ९ तारिखमा सार्वजनिक हुँदैछ ।

फ्रेन्च साझेदार रेनोसँग मिलेर विकास गरिएको टेकटन एसयूभीले भारतमा चल्तीका एसयूभी रेनो डस्टर, टाटा सिएरा, किया सेल्टोस, हुन्डाई क्रेटा, फक्सवागन टाइगुन र स्कोडा कुशाक जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ । छिट्टै नेपालमा पनि टेकटन एसयूभी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

निसान पेट्रोल जस्तै डिजाइन

जापानी कार निर्माता निसानले टेकटन एसयूभीको डिजाइन कम्पनीकै फ्ल्यागशिप एसयूभी ‘पेट्रोल’बाट प्रेरित हुनेछ । अगाडिको भागमा तीन–खण्डीय आयाताकार एलईडी हेडल्याम्प, उल्टो ‘एल’ आकारको डीआरएल र तिनलाई जोड्ने एलईडी लाइटबारले यसलाई आधुनिक र बलियो लुक दिनेछ ।

नयाँ इन्फोटेनमेन्ट सिस्टम

नयाँ टेकटनको मुख्य आकर्षणमध्ये एक १०.१ इन्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । यसमा गुगल बिल्ट-इन प्रविधि उपलब्ध हुनेछ । यसको सहायताले चालकले गुगल म्याप, गुगल असिस्ट, स्पोर्टीफाइ र युटुब म्युजिक सिधै खोल्न सक्नेछन् । यसको लागि एन्ड्रोइड अटो र वा एप्पल कार प्लेको आवश्यकता पर्दैन ।


म्याप हेर्न मिल्ने डिजिटल क्लस्टर

निसानले टेकटन एसयूभीमा १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिनेछ । यसमा नेभिगेसन म्याप सिधै हेर्न सकिने छ । यसले चालकलाई बाटो हेर्नकै लागि इन्फोटेनमेन्ट स्क्रीनतर्फ फर्किरहनु पर्ने छैन ।

प्रिमियम फिचर रहने

टेकटनको पछाडिको सिट प्रतिस्पर्धी केही मोडलको तुलनामा अलि साँघुरो हुन सक्ने बताइए पनि सुविधा र प्रिमियम फिचरमा भने कम्पनीले कुनै कमी नराख्ने भएको छ ।

यसमा पावर्ड टेलगेट, डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर एड्जस्ट हुने अगाडिका सिट, म्यानुअल लम्बर सपोर्ट, भेन्टिलेटेड सिट तथा ४८ रङको एम्बियन्ट लाइटिङ रहने छ ।

इन्जिन विकल्प

निसानले सुरूवाती चरणमा टेकटनलाई दुईवटा टर्बो पेट्रोल इन्जिनमा ल्याउने सम्भावना छ । जसमा १.० लिटर टर्बो पेट्रोल र १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ । १.० लिटर टर्बो इन्जिनले ९९ पीएस पावर प्रदान गर्छ भने १.३ लिटर टर्बो इन्जिनले १६१ पीएस पावर दिन्छ ।


दुवै इन्जिनसँग ६-स्पीड म्यानुअल गियरबक्स रहनेछ । ठूलो इन्जिनमा ६-स्पीड वेट डुअल-क्लच अटोमेटिक गियरबक्स पनि पाइने अनुमान गर्न सकिन्छ ।

अर्को वर्ष हाइब्रिडमा

कम्पनीले सन् २०२७ को सुरूवाततिरै १.८ लिटर पेट्रोलमा आधारित हाइब्रिड पावरट्रेन पनि थप्ने जनाएको छ । उक्त हाइब्रिड इन्जिनले करिब २५ किलोमिटर प्रतिलिटर माइलेज दिने अनुमान गरिएको छ ।

नेपालमा कहिले आउला ?

निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले टेकटन एसयूभी कहिले नेपाल आउँछ भन्ने जानकारी दिएको छैन । तर, उसले आफ्नो सामाजिक संजालमा टेकटनको एउटा भिडियो सार्वजनिक गर्दै छिट्टै आउने संकेत दिएको छ ।

नेपाली बजारमा ५० लाखदेखि ७० लाख रुपैयाँ मूल्य भएको सेग्मेन्टमा आउन सक्ने टेकटन आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने सम्भावना धेरै देखिन्छ ।


Back_to_top