रसुवागढी पुलमा ठूला सवारी संचालनमा रोक

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ ।

गत वर्ष असार २४ गते ल्हेन्देखोला बाढीले दुई देश जोड्ने पक्की पुल बगाएपछि अस्थायी रूपमा सवारी संचालनका लागि बेलीब्रिज जडान गरिएको थियो। उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी प्राविधिक परीक्षण गर्न २ दिनका लागि ठूला सवारी संचालनमा रोक लगाइएको हो ।

हल्का सवारी साधनलाई भने आवातजावतमा खुल्ला गरिएको बताइएको छ । नेपालबाट केरूङतर्फ जाने र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ।

जिल्ला प्शासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बेलिब्रिज परीक्षणका लागि आज र भोलि ठूला सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए।

स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पारे । पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत रूपमा सवारी संचालन हुने छन् ।

दुई दिनका लागि पुलमा ठूला सवारी चलाउन रोक लगाइएसँगै नेपालबाट सामान लिन केरुङ गएका सयौं कन्टेनर उतै रोकिएका छन् ।

रसुवागढी चीनसँगको प्रमुख व्यापारिक नाका हो । यो नाका हुँदै विद्युतीय सवारी, लत्ताकपडा, फलफूल लगायत सामान आयात हुन्छ ।


Back_to_top