काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड कियाले भारतमा नयाँ विद्युतीय एसयूभी र हाइब्रिड पावरट्रेनयुक्त एसयूभी सार्वजनिक गर्ने भएको छ ।
किया इन्डियाले दुवै मोडल जुलाई महिनाको दोस्रो सातामा सार्वजनिक गर्ने अनुमान गरिएको छ।
यसअघि कम्पनीले आफ्नो ग्लोबल इन्भेस्टर डे कार्यक्रममा भारतमा किया सिरोस ईभी र सोरेन्टो हाइब्रिड एसयूभी ल्याउने योजना घोषणा गरिसकेको थियो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ टिजरलाई हेर्दा बजारमा आउन लागेका दुई एसयूभी सिरोस र सोरेन्टो हुने सम्भावना बलियो देखिएको छ।
किया सिरोस ईभी
नेपालमा पनि धेरैको चासो सिरोस ईभीमा हुन सक्छ । प्योर ईभीको रूपमा आउने भएको कारण यहाँ पनि आउन सक्ने मोडल हो ।
कम्पनीको के-१ प्लेटफर्ममा आधारित सिरोस ईभीको डिजाइन ईभी २ बाट प्रेरित रहने छ । भारतमा पेट्रोल भर्सनमा पनि उपलब्ध किया सिरोसको बाहिरी डिजाइन धेरै हदसम्म ईभी देखाउन विशेष स्टाइलिङ प्रयोग हुने अपेक्षा गर्न सकिन्छ ।
यसमा अत्याधुनिक इन्फोटेनमेन्ट, एडास, कनेक्टेड कार प्रविधि र अन्य प्रिमियम फिचर समावेश हुने अनुमान गरिएको छ ।
कम्पनीले आधिकारिक रूपमा ब्याट्री र मोटरको विवरण सार्वजनिक गरेको छैन । सिरोस ईभीमा विश्व बजारमा बिक्री भइरहेको हुन्डाई इन्स्टर ईभीमा प्रयोग हुने ४२ किलोवाट आवर वा ४९ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग हुने सम्भावना छ ।
सोरेन्टो हाइब्रिड
कम्पनीले सार्वजनिक गर्ने अर्को मोडल हाइब्रिड प्रविधियुक्त प्रिमियम थ्री रो एसयूभी हुनेछ । यसलाई विश्व बजारमा बिक्री भइरहेको किया सोरेन्टोको प्लेटफर्ममा तयार गरिए पनि भारतमा यही नाम प्रयोग हुने वा नयाँ नाम दिइने भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
यसअघि सार्वजनिक विवरणअनुसार यो एसयूभीमा १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन प्रयोग हुनेछ ।


