एउटै मूल्यका अर्बिटर र चेतक २५०१, कुन उत्कृष्ट ?

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो छ । ग्राहकलाई आकर्षित गर्न बिक्रेताहरूले नयाँ ब्राण्ड र नयाँ मोडलका स्कुटरहरू ल्याइरहेका छन् । साथै, बिक्री बढाउन आकर्षक मूल्यमा नयाँ प्रविधि र हाइटेक फिचर भएका इलेक्ट्रीक स्कुटरहरू उपलब्ध गराइरहेका छन् ।

चर्को प्रतिस्पर्धा भइरहेको इलेक्ट्रीक स्कुटर बजारमा साउनमा करिब १ दजर्न नयाँ मोडलले इन्ट्री गरे । चिनियाँ ब्राण्डको भीड रहेको बजारमा दुई भारतीय ब्राण्डका स्कुटर एउटै मूल्यमा आएका हुन् । नेपालका लागि टीभीएसको बिक्रेता जगदम्बा मोटर्सले अर्बिटर र हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतक २५०१ स्कुटर बजारमा ल्याएका हुन् ।

दुवै कम्पनीले यी इलेक्ट्रीक स्कुटर नेपाली बजारमा आफ्नो दोस्रो र किफायती मोडलका रूपमा भित्र्याएका हुन् । दुवै स्कुटरको मूल्य पनि समान २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

मूल्य समान भए पनि यी दुई स्कुटरमा डिजाइन, रेन्ज, फिचर लगायतका प्रविधिहरू भने फरक छ । नयाँ विकल्पका रूपमा आएका चेतक २५०१ र टीभीएस अर्बिटरको हामीले यहाँ तुलनात्मक विश्लेषण गरेका छौं ।

डिजाइन

डिजाइनको आधारमा बजाज चेतक २५०१ र टीभीएस अर्बिटरको शैली एकअर्काभन्दा निकै फरक छ । चेतक २५०१ मा रेट्रो-मोडर्न डिजाइन दिइएको छ । गोलाकार एलईडी हेडल्याम्प, सफा र कर्भी बडी डिजाइन, फ्ल्याट फ्लोरबोर्ड तथा यू-सेपको एलईडी टेललाइटले यसलाई क्लासिक स्कुटरको झल्को दिन्छ । यसको डिजाइनमा धेरै कट र क्रिजभन्दा पनि सरल, प्रिमियम र परम्परागत चेतक पहिचानलाई निरन्तरता दिइएको देखिन्छ ।


टीभीएस अर्बिटर आधुनिक र युटिलिटी केन्द्रित डिजाइनमा देखिन्छ । यसको बडी डिजाइन तुलनात्मक रूपमा शार्प र एंगुलर छ । फ्ल्याट फ्लोरबोर्ड, लामो तथा फ्ल्याट सिट, एलोय ह्वील र आधुनिक एलईडी लाइटिङले यसलाई बढी व्यावहारिक तथा समकालीन लुक दिन्छ । अर्बिटरको डिजाइनमा दैनिक प्रयोगका लागि बढी स्पेस र सहजतालाई पनि प्राथमिकता दिइएको छ ।

ब्याट्री र मोटर

नेपाली प्रयोगकर्ताले इलेक्ट्रीक स्कुटरमा खोज्ने सबैभन्दा ठूलो कुरा त्यसले दिने रेन्ज हो । दुवै कम्पनीले आफ्ना स्कुटरमा सानै ब्याट्री दिए पनि रेन्ज भने १०० किलोमिटर बढी छ ।

चेतक २५०१ मा २.५ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिन्छ । टीभीएस अर्बिटरमा ३.१ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले सिंगल चार्जमा १५८ किलोमिटर आइडीसी रेन्ज दिन्छ ।

 

अर्बिटरमा २.५ किलोवाट र चेतकमा २.२ किलोवाटको मोटर छ । चेतकको टप स्पीड ५५ देखि ६० किलोमिटर प्रतिघण्टा र अर्बिटरको टप स्पीड ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

ब्रेक तथा सस्पेन्सन

चेतक २५०१ को फ्रन्टमा डिस्क र रियरमा ड्रमब्रेक तथा टेलिस्कोपिक फ्रन्ट फोर्कसँगै ट्विन सक अब्जर्बर दिइएको छ । अर्बिटरमा भने दुवै टायरमा ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप प्रयोग गरिएको छ । यस हिसाबले ब्रेकिङ हार्डवेयरतर्फ चेतक २५०१ केही प्रिमियम देखिन्छ । यसका अलावा दुवैमा अलोय ह्वीलसहितको ट्युबलेस टायर पाइन्छ ।

अन्य फिचरहरू

चेतक २५०१ मा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प पाउन सकिन्छ । यसमा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट, मल्टि फंगसन लक, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, फास्ट चार्जिङ सिस्टम, रोड साइड असिस्टेन्स, लो ब्याट्री अलर्ट, रिभर्स, इको, स्पोर्ट मोड र २५ लिटर क्षमताको स्टोरेज छ ।

अर्बिटरमा टीभीएस कनेक्ट एपसहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन र ओटीए अपडेट सिस्टम छ ।

साथै, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट साथै, पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड र ३४ लिटरको बुट स्पेस दिइएको छ ।

निष्कर्ष

हलुका तौल, रेट्रो डिजाइन र डिस्क ब्रेकलाई प्राथमिकता दिने ग्राहकका लागि बजाज चेतक २५०१ आकर्षक हुन सक्छ । लामो रेन्ज, ठूलो स्टोरेज र स्मार्ट फिचर खोज्ने ग्राहकका लागि टीभीएस अर्बिटर बलियो विकल्प देखिन्छ । एउटै मूल्यमा उपलब्ध भए पनि यी दुई स्कुटरको प्राथमिकता नै फरक भएकाले अन्तिम छनोट ग्राहकको आवश्यकता र रोजामा निर्भर हुनेछ ।


Back_to_top