काठमाडौं । ट्राफिक प्रहरीले स्वीकृत रुटमा मात्र सार्वजनिक सवारी साधन चलाउन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिटभन्दा बाहिर सवारी चलाउने गरेको पाइएकाले त्यस्तो नगर्न आग्रह गरेको हो ।
ट्राफिकका अनुसार सार्वजनिक सवारीले स्वीकृत रुट बाहिर पनि सवारी चलाउने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक सवारी सेवा नपाउने अवस्था रहेको छ । साथै, यसले सार्वजनिक सेवामा अव्यवस्था सिर्जना भएको जनगुनासो आएको ट्राफिकको भनाइ छ ।
ट्राफिकले यातायात व्यवसायी, सवारी धनी, चालक र सहचालकलाई स्वीकृत रुट परमिट र कानुनको पूर्ण पालना गरी सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा दिन भनेको छ ।


