काठमाडौं । सवारी साधन चलाउन जान्ने सरकारी कर्मचारीलाई फाइदा हुने भएको छ । मुख्य सचिव, सचिव र सहसचिव वा सो सरहका कर्मचारीले आफैं सवारी साधन चलाएमा चालकले पाउने पारिश्रमिक आफैंले लिन पाउने भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्तावित मस्यौदा अनुसार मुख्य सचिव, सचिव र सहसचिव वा सो सरहका कर्मचारीले व्यक्तिगत वा सरकारी जुनसुकै सवारी साधन प्रयोग गरे पनि चालक सुविधा पाउने छन् । साथै, चालक नराखी आफैंले सवारी चलाउन पनि पाउने छन् । यसरी आफैं सवारी चलाएमा हलुका सवारी चालकले पाउने सुरू स्केलको पारिश्रमिक रकम मासिक रूपमा उपलब्ध पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।
‘मुख्य सचिव, सचिव र सहसचिव वा सो सरहका कर्मचारीले व्यक्तिगत स्वामित्वको सवारी वा सरकारी सवारी जुनसुकै सवारी साधन प्रयोग गरेता पनि चालक सुविधा वा आफैले सवारी चलाउने सुविधा मध्ये एक मात्र रोज्न पाउनेछन्,’ प्रस्तावित मस्यौदामा भनिएको छ, ‘यसरी आफैले सवारी साधन चलाउने भएमा हलुका सवारी चालकले पाउने सुरू स्केलको पारिश्रमिक रकम मासिक रूपमा उपलब्ध गराइनेछ । अन्य तहका कर्मचारीले सवारी चालक सुविधा पाउने छैनन् ।’
मुख्य सचिव, सचिव, सहसचिव वा सो सरहका कर्मचारी बाहेक अन्य तहका कर्मचारीले भने सवारी चालक सुविधा पाउने छैनन् ।


