भोलिदेखि राइड सेयरिङ सेवा महँगिने, यस्तो छ कारण

काठमाडौं । भोलि (नयाँ आर्थिक वर्ष २०८३/८४)देखि राइड सेयरिङ सेवा महँगिने भएको छ । सरकारले आर्थिक ऐन २०८३ मार्फत राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै सेवा महँगिने भएको हो ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै २०८३ साउन १ गतेदेखि राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जानकारी गराएको हो ।

यससँगै अब इनड्राइभ, पठाओ, उबर, याङ्गो, टुटल लगायतका राइड सेयरिङ प्लेटफर्म प्रयोग गर्दा हालकोभन्दा धेरै भाडा तिर्नुपर्ने भएको छ । यात्रुले हाल तिर्दै आएको भाडामा थप ५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने भएको हो ।

राइड सेयरिङ सेवा संचालन गर्ने प्रक्रियागत सहजता, स्पष्टता, पारदर्शिता र अनुमानयोग्य बनाई कर कानूनको परिपालना र कर सहभागिता सुनिश्चित गर्न वाञ्छनीय भएकोले यो सेवामा भ्याट लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार राइड सेयरिङ संचालन गर्ने व्यक्ति भ्याटमा दर्ता भएको हुनुपर्नेछ । प्लेटफर्ममा आबद्ध राइडरले गरेको यात्रु तथा ढुवानी सेवाको बिक्री विवरणका आधारमा प्लेटफर्मले ५ प्रतिशत भ्याट असुल गरी सरकारलाई दाखिला गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

राइडरले प्रदान गरेको सेवाको कर बिजक राइडरको नामबाट जारी गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर, त्यसबाट प्राप्त आय प्लेटफर्मको आय नमानिने विभागले स्पष्ट गरेको छ । साथै, राइडरको तर्फबाट संकलित कर विवरण प्लेटफर्मले प्रत्येक महिनाको कर विवरणसँगै बुझाउनुपर्ने छ ।

राइडरको नाममा संकलन गरिएको भ्याटलाई प्लेटफर्मले कर कट्टी सुविधा लिन पाउने छैनन् । प्लेटफर्मले राइडरबाट लिने कमिसन, सेवा शुल्क तथा अन्य नियमित कारोबारमा भने १३ प्रतिशत भ्याट लाग्नेछ । त्यसका लागि छुट्टै कर बिजक जारी गर्नुपर्नेछ।

राइड सेयरिङ प्लेटफर्ममा आबद्ध सबै राइडरले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ । तर, उनीहरूलाई भ्याटमा दर्ता हुन भने अनिवार्य नरहेको विभागले जनाएको छ ।

त्यस्तै, राइड सेयरिङ प्लेटफर्ममा आबद्ध प्राकृतिक व्यक्तिलाई प्रदान गरिने सेवाबापतको रकममा १ प्रतिशत अग्रिम आयकर पनि कट्टा हुनेछ ।


Back_to_top