काठमाडौं । साउन ८ गतेसम्म देशभरका यातायात कार्यालयहरूबाट अत्यावश्यक बाहेकका काम नहुने भएका छन् ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सेवाग्राहीलाई एक हप्ता कार्यालय नआउन आह्वान गरेको हो ।
विभागका अनुसार प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरू प्रविष्टी र मिलान कार्य भइरहेकाले अत्यावश्यक बाहेक कामका लागि कार्यालयमा नआउन भनिएको हो ।
साथै, यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरूलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरणको काम भइरहेको विभागले जनाएको छ ।
‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरूलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा बेस माइग्रेसन र प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरू प्रविष्टी तथा मिलान कार्य भइरहेको व्यहोरा अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ, ‘उक्त कार्यहरू पूर्णरुपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरूमा सम्पर्क गर्न हुन अनुरोध छ ।’


