काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर उपलब्ध भएको वर्षौं बिते पनि उपभोक्ता खासै आकर्षित हुन सकेको थिएनन् । चारपाँग्रे ईभी बिक्रीले रफ्तार लिइरहँदा दुईपाँग्रे बिक्री सुस्त थियो । ईभी कारको बजार हिस्सा ७० प्रतिशत पुग्दा दुईपाँग्रेको ५ प्रतिशतभन्दा कम थियो ।
तर, गत आवमा भने दुईपाँग्रे इलेक्ट्रीक सवारी (स्कुटर र मोटरसाइकल)को बिक्रीमा उछाल आएको छ । अघिल्ला ३ वर्षमा बिक्री भए जति इलेक्ट्रीक स्कुटर गत १ वर्षमै बिक्री भएका छन् । गत आवमा बजारमा इलेक्ट्रीक स्कुटरको माग ह्वात्तै बढ्दा आयात दोब्बरभन्दा धेरैले बढेको तथ्यांकले देखाउँछ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आव २०८२/८३ मा कुल २६ हजार ११५ युनिट इलेक्ट्रीक स्कुटर र मोटरसाइकल आयात भएका छन् । यो हालसम्म कुनै आर्थिक वर्षमा आयात भएको सबैभन्दा धेरै हो ।
अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा दुईपाँग्रे ईभी आयात १३०.६९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षकोभन्दा गत वर्ष १४ हजार ७९५ युनिट धेरै इलेक्ट्रीक दुईपाँग्रे आयात भएको छ । अघिल्लो आवमा कुल ११ हजार ३२० युनिट ईभी दुईपाँग्रे आयात भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०८२/८३ मा कुल २ अर्ब ९३ करोड रुपैयाँ बराबरको दुईपाँग्रे ईभी आयात भएको छ । जसबाट सरकारले १ अर्ब १ करोड रुपैयाँ राजस्व पाएको छ ।
हिस्सा १० प्रतिशत पुग्यो
बिक्रीले रफ्तार लिएसँगै कुल दुईपाँग्रे सवारी आयातमा ईभीको हिस्सा १० प्रतिशत नजिक पुगेको छ । गत आवमा कुल २ लाख ७७ हजार २९१ युनिट दुईपाँग्रे सवारी आयात हुँदा ईभी २६ हजार ११५ रहेका छन् । जुन कुल आयातको ९.४२ प्रतिशत हो । जबकि ६ वर्षअघि (आव २०७७/७८)मा कुल दुईपाँग्रेमा ईभीको हिस्सा ०.६५ प्रतिशत मात्र थियो ।
६ वर्षमा १० गुणाले बढ्यो आयात
संख्यात्मक रूपमा कम भए पनि इलेक्ट्रीक दुईपाँग्रेको आयात भने वर्षेनी बढ्दो क्रममा देखिएको छ । पछिल्लो ६ वर्षमै आयात १० गुणाले बढेको छ । आव २०७७/७८ मा २ हजार २६५ युनिट आयात भएको गत आवमा २६ हजार नाघेको हो ।
आव २०७८/७९ मा ३ हजार ६१७ युनिट, आव २०७९/८० मा ७ हजार १५५ युनिट, आव २०८०/८१ मा ७ हजार ७४७ युनिट र आव २०८१/८२ मा ११ हजार २३० युनिट इलेक्ट्रीक दुईपाँग्रे आयात भएको थियो ।
यसकारण बढ्दै छ आकर्षण
इलेक्ट्रीक स्कुटरको माग बढ्नुको मुख्य ५ कारण देखिएका छन् । इन्धनको मूल्य बढ्नु, संचालन खर्च कम हुनु, बजारमा धेरै रेन्ज दिने स्कुटर आउनु, बिक्रेताले सर्भिस र स्पेयरमा ध्यान दिनु र आकर्षक फाइनान्स सुविधा उपलब्ध गराउँदा उपभोक्ता क्रमशः ईभीमा आकर्षित भइरहेका छन् ।
पेट्रोलको मूल्य अस्वभाविक बढेपछि उपभोक्ता विकल्पमा ईभीतर्फ शिफ्ट भइरहेको देखिन्छ । गत फेब्रुअरी अन्तिमा अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेपछि पेट्रोलको मूल्य लिटरमै ६० रुपैयाँ बढेर प्रतिलिटर २२० रुपैयाँ माथिसम्म पुगेको थियो । हाल पनि २०० रुपैयाँ हाराहारी छ । यस्तोमा पेट्रोल स्कुटरको तुलानामा संचालन खर्च निकै कम हुँदा उपभोक्ताले इलेक्ट्रीक स्कुटर रोज्न थालेको देखिन्छ । अहिले महिना दिन पेट्रोल हाल्न खर्च हुने पैसाले झण्डै इलेक्ट्रीक स्कुटरको किस्ता तिर्न पुग्ने अवस्था छ । यस्तोमा नयाँ ग्राहक इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित भइहरेको देखिन्छ ।
इलेक्ट्रीक स्कुटरको दैनिक संचालन खर्च निकै कम हुन्छ । सामान्यतया दैनिक ३०/३५ किमी यात्रा गर्दा झण्डै २०० रुपैयाँको पेट्रोल खर्च हुने अवस्था छ । तर, ईभी चार्ज गर्दै निकै कम खर्च आउँछ ।
बिक्रेताहरूले ग्राहक तान्न इलेक्ट्रीक स्कुटरमा आकर्षक फाइनान्स स्कीम समेत ल्याइरहेका छन् । साथै, पछिल्लो समय बिक्रेताहरूले चार्जिङ पूर्वाधार निर्माण, सर्भिस, स्पेयर पार्टसमा ध्यान दिनु, बजारमा धेरै रेन्ज दिने स्कुटर आउनु लगायत कारणले उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन थालेका हुन् ।
अहिले बजारमा मुख्य चल्तीका ब्राण्डका इलेक्ट्रीक स्कुटरको माग उच्च छ । नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर र मोटरसाइकल उपलब्ध छन् । तीमध्ये करिब १ दर्जन ब्राण्ड रोजाइमा परेको देखिन्छ ।
चारपाँग्रे ईभीमा चिनियाँ ब्राण्डको वर्चश्व रहँदा दुईपाँग्रेमा भने भारतीय ब्राण्डप्रति धेरै आकर्षण देखिन्छ । तुलनात्मक रूपमा सहजै पाट्र्सपूर्जा र सर्भिस पाउने, लिगेसी ब्राण्ड, धेरै रेन्ज लगायत कारण भारतीय स्कुटरतर्फ ग्राहकको नजर गएको देखिन्छ ।
नेपालमा एथर, चेतक, टीभीएस, टेलजी, याडिया, एनआइयू, सेग्वे, लुयान, ग्यारो, सुपर सो लगायत ब्राण्डका इलेक्ट्रीक स्कुटर उपभोक्ताको रोजाइमा परेको देखिन्छ ।


