गत आवमा ‘एटो टु’ लिडर, यी हुन् धेरै आयात भएका १० कार

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ नेपाली अटो बजार केही सुस्त देखियो । अघिल्लो आवको तुलनामा प्यासेन्जर कार आयात घटेर १५ हजार युनिटमा सीमित भयो ।

व्यवसायीले अघिल्लो आवमै आयात गरेका कार आयात स्कट रहनु, बजारमा माग बढ्न नसक्नु लगायत कारणले आयातमा गिरावट देखिएको हो ।

गत वर्ष नेपाली बजारमा ४ दर्जन बढी ब्राण्डका कार (ईभी र पेट्रोल गरी) आयात भएका छन् । जसमा करिब १ दर्जन ब्राण्डको मात्र आयात राम्रो देखिन्छ । गत आवमा बीवाइडी, टाटा, दीपल, ओमोडा, जेको, आइकार, डोङफेङ, हुन्डाई, किया, एमजी, महिन्द्रा, सुजुकी लगायत ब्राण्डले राम्रै संख्यामा कार आयात गरेका छन् । अन्य ब्राण्डका कार आयात भने न्यून छन् ।

नेपाली बजारमा ईभीको वर्चश्व देखिएको छ । कुल आयात भएकामध्ये करिब ६५ प्रतिशत ईभी आयात भएका छन् । सर्वाधिक आयात भएका शीर्ष १० कारमा ८ मोडल ईभी र २ पेट्रोल रहेका छन् ।

यी हुन गत आवमा धेरै आयात भएका १० कार

गत आवमा सबैभन्दा धेरै आयात हुने कारको पहिलो स्थानमा बीवाइडी एटो टु रहेको छ । साइमेक्स इंकले गत आवमा २२६४ युनिट एटो टु आयात गरेको हो । गत साउनमा मात्रै नेपाल आएको एटो टु १ वर्षमै सबैभन्दा रुचाइएको मोडल बन्दै मार्केट लिडर बनेको हो ।

त्यस्तै, दोस्रो स्थानमा पनि बीवाइडीकै एटो वान रहेको छ । साइमेक्सले गत आवमा १ हजार २९९ युनिट एटो वान भित्र्याएको हो । यो मोडल पनि गत भदौमा मात्रै नेपाल आएको हो ।

तेस्रो स्थानमा ट्याक्सीको रुपमा बिक्री हुने टिगोर ईभी रहेको छ । सिप्रदी ट्रेडिङले १ वर्षको अवधिमा १ हजार २ युनिट टिगोर ईभी भित्र्याएको हो ।

ईभीको दबदबा बीच चौथो स्थानमा हुन्डाई क्रेटा रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले गत आवमा ७९३ युनिट क्रेटा (तयारी र सीकेडी) आयात गरेको छ । क्रेटा हाल नेपालमै एसेम्बल हुँदै आएको छ ।

धेरै आयात हुनेको पाँचौं स्थानमा दीपल एस ०५ रहेको छ । एमएडब्लू वृद्धिले १ वर्षमा ७८५ युनिट दीपल एस ०५ नेपाल ल्याएको हो ।

छैटौंमा डोङफेङ नामी भिगो रहेको छ । एमएडब्लू वृद्धिले गत आवमा ६८७ युनिट भिगो भित्र्याएको हो ।

भारतीय ब्राण्ड टाटाको पन्च ईभी सातौं स्थानमा रहेको छ । सिप्रदीले १ वर्षमा कुल ५१६ युनिट पन्च ल्याएको हो ।

आठौंमा चिनियाँ ब्राण्ड आइकारको भी २३ एसयूभी रहेको छ । एसपीजी अटोमोबाइल्सले गत आवमा ५१२ युनिट आइकार भी २३ भित्र्याएको हो । गत कात्तिकमा मात्र लन्च भएको आइकार भी २३ अहिले नेपाली बजारमा हटकेक मोडल बनिरहेको छ । फरक डिजाइन, आधुनिक फिचर र मूल्यका कारण यो रोजाइमा परेको देखिन्छ ।

नवौंमा पेट्रोल कार किया सोनेट एसयूभी परेको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गत आवमा कुल ४७३ युनिट सोनेट भित्र्याएको हो ।

दशौंमा बीवाइडीकै प्रिमियम एसयूभी सिलायन सेभेन रहेको छ । साइमेक्सले गत आवमा ४४६ युनिट सिलायन सेभेन भित्र्याएको हो ।

गत आवमा ओमोडा ई फाइभ २९४, किया सेल्टोस २९१, बीवाइडी एटो थ्री २५७, डोङफेङ नामी २५०, जेकेको जे फाइभ २१२, जे सिक्स १८९, नेक्सन ईभी १७४, एमजी एस फाइभ १४०, लीपमोटर बी १० १३७ युनिट आयात भएको तथ्यांकमा देखिन्छ ।


Back_to_top