चेरीको उत्पादन २ करोड युनिट पूरा, निर्यातमा सबैभन्दा बलियो चिनियाँ कम्पनी

काठमाडौं । चेरी ग्रुपले विश्वभर आफ्नो सवारीसाधन बिक्री २ करोड युनिट नाघेको जनाएको छ । शनिबार आयोजित एक कार्यक्रममा कम्पनीले आफ्नो २ करोडौं सवारीसाधनका रूपमा ‘फुलविन ए-९’ सेडान कार सार्वजनिक गरेको हो ।

पूर्ण विद्युतीय सेडान फुलविन ए-९ को नाम कम्पनीको पहिलो मोडलसँग जोडिएको छ । सन् १९९७ मा सार्वजनिक भएको उक्त मोडल नै चेरीको पहिलो सवारीसाधन र विदेश निर्यात गरिएको पहिलो उत्पादनसमेत थियो ।

सन् १९९७ मा स्थापना भएको चेरी सन् २००७ मा १० लाख युनिट बिक्री गर्ने पहिलो चिनियाँ अटोमोबाइल ब्राण्ड बनेको थियो । अहिले चेरी समूहअन्तर्गत चेरी, एक्सिड, फुलविन, आईकार र जेटोर लगायत ब्राण्ड संचालनमा छन् । कम्पनीले विश्वका १३० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

चेरीको विश्वव्यापी विस्तारमा विदेश निर्यात मुख्य आधार बनेको छ । कम्पनीले चालु वर्षको पहिलो ६ महिनामा ९ लाख ४३ हजार ८१७ वटा सवारीसाधन विदेश निर्यात गरेको कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१.५ प्रतिशतले निर्यात बढाएको हो ।

जुन २०२६ मा मात्रै चेरी समूहले १ लाख ९१ हजार ६२ वटा सवारीसाधन निर्यात गरेको थियो । यो चिनियाँ अटोमोबाइल कम्पनीको एक महिनामा भएको अहिलेसम्मकै उच्च निर्यात हो । लगातार चौथो महिनामा चेरीले चिनियाँ सवारीसाधन निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीका अनुसार पछिल्लो निर्यात दर हेर्दा औसतमा प्रत्येक १७ सेकेन्डमा चेरीको एउटा सवारीसाधन विदेश पुगेको देखिन्छ ।

युरोपमा चेरीका उत्पादन निकै रुचाइएको छ । चालु वर्षको जनवरीदेखि जुनसम्म कम्पनीले युरोपमा १ लाख ७४ हजार युनिट सवारीसाधन बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१२ प्रतिशतले बढी हो ।

बेलायतमा लगातार चार महिनासम्म सबै ब्राण्डमध्ये नयाँ सवारीसाधन बिक्रीमा चेरी समूह शीर्ष दुई स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ । एक महिनामा जेको-७ बेलायतकै सर्वाधिक बिक्री हुने मोडलसमेत बनेको थियो ।

चेरी लगातार २३ वर्षदेखि चीनमा उत्पादित आफ्नै ब्रान्डका यात्रुवाहक सवारीसाधनको सबैभन्दा ठूलो निर्यातकर्ता रहँदै आएको छ । तथापि, चीनको घरेलु बजारमा भने चेरीको वृद्धि तुलनात्मक रूपमा सुस्त देखिन्छ ।

विदेशी बजारमा उत्पादनलाई स्थानीयकरण गर्ने रणनीतिअनुसार चेरीले दक्षिण अफ्रिकाको रोस्लिन प्लान्ट पुनः सञ्चालन गर्ने तयारी गरेको छ । उक्त प्लान्ट निसानबाट अधिग्रहण गरिएको हो । सन् २०२४ मा चेरीले स्पेनको ईभी मोटर्ससँग सहकार्य गर्दै स्थानीय ब्राण्ड एब्रोको पुनरुत्थानसमेत गरेको थियो ।

हाल चेरी समूहमा विश्वभर करिब १ लाख ५० हजार कर्मचारी कार्यरत छन् । तीमध्ये २० हजारभन्दा बढी कर्मचारी चीनबाहिर कार्यरत छन् । नेपालमा पनि चेरीका उत्पादन क्रमशः सफल हुँदै गएका छन् ।

चेरीका उत्पादन बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलले ओमोडा/जेको, आइकार र क्यूक्यू ब्राण्डका उत्पादन बजारमा उपलब्ध गराएको छ । निकै सफल ओमोडा/जेको र आइकारका उत्पादनले नेपालमा पनि राम्रो स्थान पाइरहेको छ ।


Back_to_top