बाढीपहिरोले देशभरका मुख्य १ दर्जन सडक अवरुद्ध

फाइल तस्बिर ।

काठमाडौं । बाढीपहिरोका कारण देशभरका १ दर्जन मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ११ सडक अवरुद्ध रहेका हुन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक बन्द भएको हो ।

बागमती प्रदेशको सिन्धुपाल्चोकमा अरनिको राजमार्गको चारकिलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

कान्ति ललितपुरको बागमती गाउँपालिका पाङदुरमा पहरिो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका ०८ मा पहिरो आउँदा सीतापाइला धार्के सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढीका कारण त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक पनि पूर्ण रूपमा बन्द भएको छ ।

गण्डकी प्रदेशको बागलुङको बेलबगरमा पहिरो आउँदा कालीगण्डकी करिडोर, लमजुङको श्रीचौरमा पहिरो आउँदा बेँसीसहर च्यामे मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिमको रिजेगार्ड खोलामा बाढी आउँदा भेरी करिडोर (जाजरकोट-डोल्पा सडक) र लुम्बिनी प्रदेशको रोल्पाको खोलावाङमा पहिरो आउँदा घोराही थवाङ शहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।


Back_to_top